म्यान युनाईटेडको आशा कायमै, म्यान सिटीको फराकिलो जित

एजेन्सी

    कार्तिक २२, २०७५

    युभेन्टसलाई पराजित गर्दै म्यानचेष्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ । गएरातीको जितपछि समुह एचको दोस्रो स्थानमा रहेको म्यान युनाईटेडको ७ अंक भएको छ भने हार पछि पनि युभेन्टस ९ अंकमा शीर्षमा कायम छ ।

    खेलको ६५ औं मिनेटमा युभेन्टसका क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएपनि म्यान युनाईटेडका लागी जुवान माटाले ८६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लोबो सिल्भाले ८९ औं मिनेटमा आत्मघाती गोलको उपहार दिएपछि महत्वपूर्ण खेलमा म्यान युनाईटेड विजयी भयो ।

    समुह एचकै अर्को खेलमा भ्यालेन्सियाले योङ्ग बोईजलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । ५ अंकमा तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको नकआउट चरण प्रवेश सम्भावना पनि कायमै छ । 

    समुह एचको खेलमा म्यानचेष्टर सिटीले साख्तर डोनेष्कलाई ६ शुन्य गोल अन्तरले पराजित गर्‍यो । उसको जितमा गाब्रिएल जेसुसले ह्याट्रिक गरे । जित पछि सिटी ९ अंकमा समुह एचको शीर्ष स्थानमा कायम छ ।

    सोही समुहको अर्को खेलमा लियोन र हाफेनहेमले २–२ को बराबरी खेलेपछि अन्तिम १६ मा स्थान बनाउन सिटीले अर्को खेलसम्म कुर्न पर्ने भएको छ । 

    समुह जि को रियल मड्रिडले भिक्टोरिया प्लेजेनलाई ५ शुन्य गोल अन्तरले पराजित गर्‍यो । करिम बेन्जिमाले दुई गोल गरेको खेलमा केशमेरो, ग्यारेथ बेल र टोनी क्रसले एक एक गोल गरे ।

    सोही समुहको अर्को खेलमा रोमाले सीएसके मस्कोलाई २–१ ले पराजित गर्‍यो । मड्रिड र रोमाको समान ९ अंक भएको छ ।  

    समुह ई को खेलमा बार्यर्न म्युनिखले एईके एइथेन्सलाई २–० ले पराजित गर्दा सोही समुहको अर्को खेलमा अजाक्स बेन्फिकासंग १–१ गोलको बराबरीमा रोकियो । शीर्ष स्थानको बार्यर्नको १० अंक भएको छ भने बराबरीले अजाक्सलाई ८ अंकमा दोस्रोमा झारेको छ । 

     

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्