नेपाल संवत ११३९ सुरु

- रेडियो कान्तिपुर, काठमाडौं
  • आज हुने सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित

कार्तिक २२, २०७५

नेपाल संवत ११३९ सुरु भएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंङ्खधर साख्वाले विसं ९३७ इसापूर्व ८८० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संतवको शुरुवात गराउनुभएको थियो ।

यद्यपि, यसपटक भने नेपाल संवत आन्दोलनका प्रणेता एवं मानव अधिकारकर्मी पद्यरत्न तुलाधरको निधनका कारण नेपाल संवतका अवसरमा कुनैपनि औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । 

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको इतिहासविद् बताउँछन् । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । 

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, सिन्धुपाल्चोकको बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवतलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । 

आजैको दिन नेवार समुदायमा म्ह: अर्थात आत्म पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म म्ह: पूजा पर्व मनाउने गर्दछन् । 

आत्म पूजा शास्त्रीय भए पनि नेवार समुदाय बाहेक अन्य समुदायमा यसको प्रचलन छैन । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आर्शीवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

प्रकाशित:कार्तिक २२, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्