लक्ष्मीपूजाको दिन विद्युतको खपत घट्यो

काठमाडौं

    कार्तिक २२, २०७५

    - लक्ष्मीपूजाको दिन अघिल्लो वर्षको तुलनामा यो वर्ष विद्युतको खपत घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  लक्ष्मीपूजाको दिन हिजो ११ सय ५ मेगावट विद्युत खपत भएको प्राधिकरणले जनाएको छ ।

    अघिल्लो वर्ष भने ११ सय ६५ मेगावाट विद्युत खपत भएको थियो । अघिल्लो वर्षभन्दा विद्युतको माग बढ्ने प्रक्षेपण गरी सोही अनुसारको विद्युत व्यवस्थापन गरेपनि खपत कम भएपछि प्रणाली व्यवस्थापनमा सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

      विद्युत अभाव हुन नदिने भन्दै उपभोक्तालाई ढुक्क हुन आग्रह गर्दै प्राधिकरणले राजधानीको रत्नपार्कस्थित आफ्नो कार्यलय परिसर झिलीमिली पारेको थियो । गर्मी र र जाडोको बीचमा परेको यो वर्षको तिहारमा अन्य विद्युतीय सामाग्री प्रयोग गर्न नपरेकाले पनि खपत कम भएको अधिकारीको भनाई छ ।

    हिजो  मुलुकभर ३ स्थानमा मात्र प्राविधिक खराबी आएको प्राधिकरणले जनाएको छ ।  काठमाडौंको गौरीघाटमा साँझ बाँदरले तारमा क्षति पुर्‍याउँदा केहीबेर विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यस्तै, पर्वतको मोदी गाउँपालिकामा स्थानीयले रुख काट्दा वितरण लाइनमा क्षति हुँदा विद्युत अवरुद्ध भएको र भोजपूरमा समेत टान्सफर्मरमा केहीबेर मात्रै समस्या आएको प्राधिकरणले जनाएको छ  । यद्यपी प्राविधिकको टोली तयारी अवस्थामा रहेकोले  तत्कालै समस्या समाधान गरिएको अधिकारीले बताउनुभयो ।

     

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्