लमजुङमा ‘न्हूँ दँया भिन्तुना’ (फोटोफिचर)

- आश गुरुङ, लमजुङ

    कार्तिक २२, २०७५

    लमजुङका नेवार समुदायले बिहीबार नेपाल संवत् ११३९ को भब्य स्वागत गरेका छन् । नेवार समुदायलाई साथ दिन गैरनेवार समुदायका गन्यमान्य समेत बेंसीसहरस्थित फूलबारी मञ्चमा जम्मा भए । बेंसीसहर बजारमा बसोबास गर्दै आएका नेवार समुदायले बिहान मनाङे चौताराबाट फूलबारी मञ्चसम्म र्‍याली निकालेर नेपाल संवत् ११३९ को स्वागत गरेका हुन् ।

    राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेको खुसीयालीमा नेपाल संवतको स्वागत गरिएको उनीहरुले बताएका छन् । नेवार समुदायको मौलिक पोषाक सहित र्‍यालीमा सहभागी नेवार समुदायले बाजागाजा बजाउँदै फूलबारी मञ्चमा जुटे ।

    उनीहरुले फूलबारी मञ्चमै एकआपसमा न्हूँ दँया (नयाँ वर्ष) को अवसरमा भिन्तुना (शुभकामना) साटासाट गरे । र्‍यालीमा ८० वर्षीया लोकनारायण श्रेष्ठले रातो टीका लगाइदिएर शुभकामनाको सुरुवात गरे । समाजका गन्यमान्यले रातो धजा वितरण गरे । र्‍यालीमा बेंसीसहरस्थित नेवार समुदायका ५ वटै गुठी (समाज)बाट बालबालिकादेखि वृद्धवृद्धा सम्मका सहभागी थिए ।

    लोकनारायणका अनुसार बेंसीसहरका नेवार समुदायले ३/४ वर्षयता मात्रै न्हूँ दँया भिन्तुनाको र्‍याली निकाल्दै आएका छन् । यसले गर्दा नेवार समुदायमा खुसी छाएको उनले बताए । उनका अनुसार नेवार समुदाय वर्षभरी प्राय: व्यवसायमा हुन्छन् । ‘वर्षभरी एकजुट हुन नसकेका हामीलाई चाडपर्वले एकठाउँ बनाएको छ’ उनले भने । उनका अनुसार पहिले परिवारबीच मनाइने पर्व अहिले आएर समुदायमा मनाउन थालेपछि यसको महत्व बढेको छ । 

    नेवा: देय् दबू लमजुङ एवं नेवा खल: बेंसीसहरका अध्यक्ष धर्मराज श्रेष्ठका अनुसार ५ वर्षयता बेंसीसहरका नेवार समुदायले औपचारिक रुपमा नेपाल संवतको स्वागत गर्दै आएका छन् । ‘आजदेखि हाम्रो नयाँ वर्ष सुरु भएको छ । हामी यसलाई नै नेपालको राष्ट्रिय संवतको रुपमा घोषणा गर्न, मान्न र मान्यता दिन सरकारसँग माग गर्दछौं ।’

    उनका अनुसार भाषा, कला, भेषभूषा, संस्कार संस्कृति र इतिहास सहितको पहिचान लोप हुन थालेपछि जागरुक भएर अघि बढेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य  रामकुमार श्रेष्ठले नेपाल संवतले नेवार समुदायलाई एक सूत्रमा बाँधेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘वर्षभरी जो जहाँ रहेपनि हाम्रो नयाँ वर्षमा हामी एकै थलोमा जम्मा भएका छौं ।’ नेपाल संवतको स्वागत अवसरमा नेवार समुदायले बजारका ठाउँठाउँमा शुभकामना ब्यानर टाँगेका छन् । फूलबारी मञ्चमा निम्त्याइएका अतिथिलाई नेवार समुदायले समयबजी खुवाएका थिए ।

    नेवार समुदायको खाजाको परिकार समयबजीमा चिउरा, भट्टा, अण्डा, मासु, माछा, आलु, झिलिंगा, गुन्द्रुक लगायत पर्छ । सालको पातको टपरीमा समयबजी, गिलासमा ऐला (घरायसी मदिरा), दही लगायतको परिकार खाएर शुभकामना आदानप्रदान गरिएको थियो ।

    नेवा: मिसा दवुकी अध्यक्ष शान्ति श्रेष्ठका अनुसार पछिल्लो समय युवा र किशोरमा भाषा, संस्कार संस्कृतिबारे जान्ने र बुझ्ने चलन बढेको छ । यसले गर्दा यस्ता कार्यक्रममा युवाको जमात बढेको छ ।

    नेवार समुदायसँग न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) साटासाट गर्न जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी नेकपाका कृष्णप्रसाद अधिकारी, कांग्रेस सभापति भेषबहादुर पौडेल, डीएसपी यादव ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा, आदिवासी जनजातीका जातीय संस्थाका प्रमुख, जनप्रतिनिधि लगायत पुगेका थिए । 

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्