पाल्पामा नेपाल संवतको भव्य स्वागत

- माधव अर्याल, पाल्पा

    कार्तिक २२, २०७५

    नेपाल संवत ११३९ को पाल्पामा भव्य स्वागत गरिएको छ । नेपाल संवतको स्वागतमा पाल्पा, सदरमुकाम तानसेनमा बिहीबार विभिन्न कार्यक्रम गरिएको छ । बिहानैदेखि तानसेनमा नेवारी समुदायसंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

    तानसेनको बसपार्क, टक्सार, भगवतीटोल, मखनटोल लगायतका स्थानमा तुल व्यानर राखेर नेपाल संवतलाई स्वागत गरिएको छ । यस्तै, रामपुर, आर्यभन्ज्याङ्, हार्थोक लगायतका स्थानमा पनि नेपाल संवतको स्वागतमा विभिन्न कार्यक्रम राखेका छन् ।

    तानसेन नगरपालिका, ३ बसपार्कस्थित इलाभेन ब्रदर्शको आयोजनामा नेपाल संवतको स्वागतार्थ मोटरसाईकल र्‍याली निकालिएको छ । नेवारी संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका छन् । नेवार समुदायसँग सम्बन्धित केही संघसंस्थालेले सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन् ।  

    इलाभेन ब्रदर्शले तानसेनमा हरेक वर्ष नेपाल संवतको स्वागतमा मोटरसाईकल र्‍याली निकाल्दै आएको छ । तानसेनको आन्दोलन चोकबाट सुरु भएको ऱ्याली बर्तुङ्ग, कैलाशनगर, टक्सार, मखनटोल, भुसालडाँडा, गोर्खेकोट, मेहलधारा हुँदै बजारको परिक्रमा गरेका थिए । २ सय बढी मोटरसाईकलले नेपाल संवतको स्वागतमा हर्न बजाउँदै रमाईलो गरेर बजार परिक्रमा गरेका थिए । 

    कार्यक्रम संयोजक सुशिल शाक्यका अनुसार मोटरसाईकल र्‍यालीमा सहभागी सबैलाई विभिन्न उपहार प्रदान गरिएको छ । नेवारी समुदायमा घर घरमा घडामा पानी र फूल राखेर आगन्तुकलाई समेत स्वागत गरेका थिए ।

    धिमे बाजाको धुनमा नेवारी पोसाक लगाएर तानसेनमा बजार परिक्रमस समेत गरिएको छ । काठमाडौंमा धिमे बाजा बजाउन सिकेका युवाहरुले रमाईलो गर्नुका साथै म्ह: पूजा हेर्नेको समेत ठूलो भीड लागेको छ । तानसेनको टक्सारटोलमा नेवारी समुदायको बसोवास रहेको छ । 

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्