नेपाल भारतसँग बराबरीमा रोकियो

एजेन्सी

    कार्तिक २२, २०७५

    ओलम्पिक खेलकुदका लागि महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपाल भारतसँग बराबरीमा रोकिएको छ । म्यानमारमा आज भएको पहिलो खेलमा नेपालले भारतसंग १ – १ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

    जापानमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपालले भारतसँग बराबरी खेलेको हो । म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपालले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

    खेलको ११ औं मिनेटमा नेपालले कप्तान निरु थापाको गोलबाट अग्रता बनाएको थियो । खेलको ३७ औं मिनेटमा भारतले गोल गर्दै खेल बराबरीमा पुर्‍याएको थियो ।

    भारतका लागि कमला देवीले गोल गर्दै भारतलाई खेलमा फर्काएकी थिइन् । खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसके पछि खेल १ – १ गोलको बराबरीमा सकिएको थियो ।

    बराबरीसंगै समूह ’सी’ मा रहेको नेपाल र भारतले एक एक अंक जोडेका छन् । नेपालले अब दोस्रो खेलमा आइतबार घरेलु टोली म्यानमारसँग खेल्नेछ ।

    नेपालले आफ्नो अन्तिम खेलमा आगामी २७ गते बंगलादेशसँग खेल्नेछ । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

     

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्