आज भाइटीका, टीकाको साइत ११ : ५५ बजे

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २३, २०७५

    यमपञ्चक अर्थात तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । विशेषत आज दिदी बहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने क्रम जारी  छ ।

    दिदी बहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदी बहिनीलाई टीका लगाउने गरिन्छ । दिदी बहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

    आज बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभ साइत रहेको थियो । यद्यपी टीका आज दिनभर लगाउन कुनै बाधा नहुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. गौतमले बताउनुभयो ।

    लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अस्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादी देवताको समेत पूजाआजा गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, दुबो, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

    टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

     बालगोपालेश्वरमा भाइटीका लगाउने क्रम जारी

    दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाएका छन् । टीका लगाउनेहरुको मन्दिर परिसरमा भीड लागेको छ । भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् । रानीपोखरीको बीचमा अवस्थित मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले हाल पुनर्निर्माणको पर्खाइमा छ ।  

    शुभकामना

    यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको अवसरमा शुभकामना दिनुहुँदै सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममता अझै प्रगाढ होस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभएको छ, नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।

    यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिँदै यो पर्वले आपसी एकता र भातृत्व बिकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाइटीकाको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउँदै सम्पूर्ण नेपाली जनताको मुहारमा खुशी ल्याउन यस पर्वले मद्दत गर्ने उल्लेख गर्नुभएको छ । समृद्धिको प्रतीक लक्ष्मीपूजा र तिहारको अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमताअनुसार योगदान पुर्‍याउन हरेक नेपालीलाई प्रेरणा मिलोस् भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले शुभकामना दिँदै भन्नुभएको छ, जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्न यो सरकार प्रतिबद्ध छ । विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब तीव्रता दिइने छ र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ सङ्कल्पित छौँ । हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

    केही समयअघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसाग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन गरिएको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थायित्व कायम भइसकेको बताउनुभएको छ ।

    यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा एवं अन्य विभिन्न दलका नेताहरुले समेत भाइटीकाको अवसरमा शुभकामना दिएका छन् ।

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्