विराटनगरस्थित आईसीपी सञ्चालन गर्ने सहमति

- देवनारायण साह, मोरङ

    कार्तिक २३, २०७५

    मुलुकको मुल नाकामध्येको एक मोरङको विराटनगर नाकाबाट सहज रुपमा ब्यापार व्यवसाय सञ्चालन गर्न एकीकृत भन्सार जाँच चौकी (आईसीपी) अस्थायी रुपमा सञ्चालन गर्ने सहमति भएको छ । भारत लगायत तेस्रो मुलुकबाट आएको सामान बोकेको मालबाहक सवारी साधनको जामको समस्या समाधानका लागि नेपाल–भारतबीच सहमत भएको हो ।

    नेपाल–भारत समन्वय समितिको असोज २९ गते भएको बैठकले विराटनगरस्थित जाँच चौकी अस्थायी रुपमा सञ्चालन गर्ने सहमति भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बैठकमा आईसीपी तत्काल अस्थायी रुपमा सञ्चालन गरेर जाम हटाई ब्यापार व्यवसाय सहज बनाउने सहमति भएको हो ।

    उक्त सहमति अनुसार नेपाल पक्षले भन्सार विभागबाट जाँच चौकी अस्थायी सञ्चालनको अनुमति प्राप्त गर्ने र भारतीय पक्षले जाँच चौकीमा तत्काल गेट र कर्मचारी बस्नका लागि एउटा कोठा निर्माण गर्नुपर्ने हो । 

    प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, ‘हामीले भन्सार विभागलाई आग्रह गर्दा बाधा अडकाउ फुकाउ गरेर आईसीपी अस्थायी रुपमा सञ्चालनको अनुमति दिइसकेको छ तर भारतीय पक्षबाट गेट निर्माणमा ढिलाई भएको छ ।’

    प्रमुख जिल्ला अधिकारी केसीले भारतीय पक्षलाई गेट र कोठा निर्माणका लागि भारतीय विदेश मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकोले आईसीपी सञ्चालनमा ढिलाई भएको बताउनुभयो ।

    ‘भारतीय पक्षले पनि विदेश मन्त्रालयबाट अनुमति प्राप्तिको प्रक्रियामा रहेकोले चाँडै गेट र कर्मचारी बस्ने कोठा निर्माण हुनेमा आशावादी छौं,’ उहाँले भन्नुभयो, ‘एकीकृत जाँच चौकी तत्काल समाधान भए दिपावलीको अवसरमा जोगबनी र रानीमा सर्वसाधारणले झेल्ने जामबाट मुक्ति पाउथ्यो ।’ 

    भन्सार विभागले तत्काल भन्सार ऐनको दफा ९० को उपदफा २ अननुसार बाधा अडकाउ फुकाउ गरी आईसीपी अस्थायी सञ्चालनको अनुमति पत्र विराटनगर भन्सार कार्यालयमा पठाइसकेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख मीमांस अधिकारीले आईसीपीमा गेट र कोठा निर्माणको काम भएपछि विभागको पत्र अनुसार सञ्चालनमा आउने बताउनुभयो ।

    विभागका अधिकृत चुडामणि शर्मा कट्टेलको हस्ताक्षरित पत्रमा भारतबाट आएका मालबाहक सवारी नेपालतर्फ अनलोड गरेर आईसीपीबाट भारततर्फ जान पाउने उल्लेख छ ।

    निकासी हुने सामान बोकेका ढुवानी साधन बाहेक अन्यका हकमा जाँच चौकीसँग सम्बन्धित व्यवस्थापनसित समन्वय गरी निकासी गेटमा नै भन्सारका कर्मचारीबाट भारततर्फ जाने खाली ढुवानीका साधनलाई चेकजाँच गरी छाड्ने पत्रमा उल्लेख छ । साथै सम्पूर्ण कार्यको व्यवस्थापन प्रमुख भन्सार अधिकृतल गर्न पत्रमार्फत निर्देशन दिएको छ । 

    नेपाल आयल निगमले आयात गर्ने पेट्रोलियम पदार्थ तथा ग्यास बोकेका ढुवानीका साधन, बल्कमा आयात हुने क्लिङ्कर, फलाम जस्ता औद्योगिक कच्चा पदार्थ बोकेका ढुवानीका साधन जाँच चौकीबाट भन्सार कार्यालयसम्म ल्याउन दिने निर्देशन पनि विभागले दिएको हो । पत्रमा पैठारी हुने ढुवानीका साधनहरूबीच बाटोबाट अन्यत्र विचलन भई राजस्व चुहावट हुने जोखिम भएको हुँदा एस्कटिङ्ग गरेर मात्र भन्सार क्षेत्रमा ल्याउन पत्रमा उल्लेख छ । 

    पत्रमा उल्लेखित ढुवानीका साधन बाहेक अन्य सवारीसाधन तथा मालवस्तु आईसीपी हुँदै आयात निर्यात हुन नदिन उल्लेख छ । आईसीपीबाट जाने आउने सवारी साधनकाो लगत राखेर मात्र छाड्न पत्रमा उल्लेख छ । भन्सार जाँच चौकीबाट मालबाहक सबारी साधन सञ्चालनमा आएपछि जोगबनी र रानी क्षेत्रमा हुने जाम सहज हुने दुबै पक्षका अधिकारीको विश्वास छ । 

    नेपालतर्फ आयात गरिएका सामन बोकेका सबारी साधनको लर्को जोगबनी सीमा नाकाबाट १० किलोमिटर दक्षिण भारतको बथनाहासम्म हुने गरेको छ । सीमा नाकाबाट २० किलोमिटर दक्षिणस्थित भारतको फारबिसगञ्जबाट कुनैपनि मालबाहक सवारी साधन विराटनगर भन्सार परिसरभित्र आइपुग्न न्यूनतम ५ दिन लाग्ने गरेको व्यवसायीहरुले गुनासो पोख्दै आएका थिए ।

    अत्यधिक जामका कारण समयमा ट्रक र कन्टेनर नआउँदा व्यवसायीले डिटेन्सनको मार खेपिरहनु परेको मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले गुनासो पोखे । 

    विराटनगर भन्सारमा ढुवानीका साधनको व्यवस्थापन गरिरहेको ट्रान्स नेपालका प्रबन्धक गणेश घिमिरेले नेपालमा खाली भई भारततर्फ जाने ढुवानीका साधन दैनिक ४ सय देखि ४ सय ५० को हाराहारीमा हुने बताउनुभयो । खाली ढुवानीका साधन आइसिपीको बाटो हुँदै जोगबनी थानासम्म निस्कन सक्ने भएकोले जामको समस्या समाधान हुने उहाँले बताउनुभयो ।

    यस्तै, पेट्रोलियम पदार्थका ट्याङकर दैनिक ६० देखि ८० वटा, ग्यासका बुलेट १० देखि १५ वटा र क्लिङ्कर तथा फलामका कच्चा पदार्थ बोकेका ४० फिटे कन्टेनर २० देखि २५ वटा आईसीपीबाट आउँदा जाम अझ घट्ने उहाँको विश्वास छ ।

    विराटनगर १७ स्थित भेडियारीमा १ सय २९ बिघामा भारत सरकारले २ अर्ब ८ करोड रुपैयाँको लागतमा आईसीपीको निर्माण थालेको छ । भारतले दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकोण प्रा.लि. अहमदावादलाई अत्याधुनिक सुबिधा सम्पन्न आईसीपी निर्माणको ठेक्का दिएको छ ।

    भारततर्फ निर्माण काम सम्पन्न भएर सञ्चालन भइसक्दा पनि यतातिर हालसम्म मुख्य प्रसासनिक भवनको पनि निर्माण हुन सकेको छैन । सन् २०१८ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने म्याद निर्माण कम्पनीलाई रहेको छ । 

    निर्माण कम्पनीले समयमा निर्माण काम सम्पन्न गर्न अहिले प्रवेश र निकासीद्वार, गोदाम घर, सुरक्षा ब्लक, क्याण्टिन, चिलिङ्ग सेण्टर, पशु र कृषि क्वारेण्टाइन चेक पोष्ट, ल्याब लगायतको संरचनाको निर्माणमा तीब्रता दिएको छ । आईसीपीदेखि रानी र रोडशेष चोकबीचमा जोड्ने ६० मिटर चौडा सडक निर्माण अन्तिम चरणमा पुगेको छ 

    एकीकृत जाँच चौकी निर्माण कम्पनीका संदिप गोयलले गत वर्ष साउन अन्तिम साता आएको बाढीले ४ महिना निर्माण काम अवरुद्ध भएकोले काम प्रगति हुन ढिलाई भएको बताए । उनले आउँदो बैसाखभित्र जाँच चौकी निर्माण सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाएको बताए ।

     

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्