कोलम्बो प्रोसेसको छैंटौं बैठक काठमाडौंमा

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २६, २०७५

    वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएका राष्ट्रहरुको साझा संस्था कोलम्बो प्रोसेसको छैटौं बैठक काठमाडौंमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी आगामी बिहीबारबाट कोलम्बो प्रोसेसको बैठक हुने जानकारी गराएको हो ।

    वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने गरेका छन् ।

    अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमको समन्वयमा आयोजना हुने सो बैठकमा सदस्य राष्ट्रबीच वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने नीति, रणनीति र हासिल गर्ने उपलब्धीका विषयमा पनि बहस हुने मन्त्रालयले जनाएको छ ।

    कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी १२ राष्ट्र सदस्य छन् । वैदेशिक रोजगारीमा जाने कामदारको छनोटदेखि उनीहरुको क्षमता विकासमा समेत सहकार्य गरेर अघि बढ्ने गरी बैठक आयोजना गर्न लागिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो । 

    सदस्य राष्ट्रहरुबीच वैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्सको उपयोगको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । बैठकमा सदस्य मुलुकले अघिल्लो बैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामी दिनमा अवलम्बन गरिने कदमहरूको पहिचान समेत गर्नेछ ।

    आगामी शुक्रबार गते हुने मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ । बिहीबार हुने उच्च अधिकारी स्तरीय बैठकले मन्त्रीस्तरीय बैठकको लागि कार्यसूची, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्ने र सोही आधारमा मन्त्रीस्तरीय बैठकले आवश्यक निर्णय लिने मन्त्रालयले जनाएको छ ।

    बैठकमा ग्लोबल कमप्याकट अन सेफ र रेगुलर माइग्रेसन तथा कोलम्बो प्रोसेसबीचको अन्तर सम्बन्ध र कार्यान्वयनको सन्दर्भमा विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनु पर्ने विषय छलफल हुनेछ ।

    यस्तै, कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुले अवलम्बन गर्नुपर्ने नीति र हासिल गर्न सक्ने लाभको विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । काठमाडौं घोषणा पत्र जारी गरी मन्त्रीस्तरीय परामर्श बैठके समापन हुनेछ । 

    प्रकाशित:कार्तिक २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्