माउ पार्टीको हस्तक्षेप स्वीकार्य नहुने : काफ्ले

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २६, २०७५

    नेपाल विद्यार्थी संघ नेविसंघको १२ औं महाधिवेशन भाँड्न माउ पार्टी कांग्रेस र अध्यक्ष नैनसिंह महर लागेको आरोप महामन्त्री कुन्दनराज काफ्लेले लगाउनु भएको छ । विधान र उमेर हदको बहानामा नेविसंघको महाधिवेशन नगरेर टीके प्रथा लाद्ने प्रयास गरिएको भन्दै उहाँले माउ पार्टीको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।

    राजधानीमा आज पत्रकार सम्मेलन गरेर काफ्लेले महाधिवेशनको वातारवण तयार गर्न माउ पार्टीको ध्यानाकषर्ण गराउनुभयो 

    आफूहरु ३२ वर्षे उमेर हदको विरोधी नरहेको भन्दै उहाँले महाधिवेशनको सुनिश्चितता मात्रै चाहेको उल्लेख गर्नुभयो । नेविसंघको नेतृत्व विद्यार्थी स्वयंले चुन्न पाउनुपर्ने भन्दै महामन्त्री काफ्लेले त्यस विपरीतको निर्णय भए संघर्षमा उत्रिने चेतावनी दिनुभयो 

    दुई वर्षअघि निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद ३ महिना थपेर आगामी मंसिर २ गते सम्म पुर्‍याइएको छ ।

    त्यसबीचमा महाधिवेशनबाट नयाँ नेतृत्व चयन नभए कार्यसमिति स्वत: भंग हुनेछ । यसअघि नेविसंघले कार्तिक १६ देख १८ गतेसम्म राजधानीमा १२ औं महाधिवेशन गर्ने निर्णय गरेपनि हुन सकेन । 

    प्रकाशित:कार्तिक २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्