न्याय माग्दै धर्नामा बसेका यज्ञराज र दुर्गादेवी बिरामी

- प्रिन्स गौतम, काठमाडौं

    कार्तिक २९, २०७५

    छोरीको हत्यामा संलग्नलाई चाँडो पहिचान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी अनिश्चितकालीन धर्नामा बसेका बुबा–आमा बिरामी परेका छन् । साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि भीमदक्त नगरपालिका, २ उल्टाखामकी १३ वर्षीया बालिकाका बुबा यज्ञराज पन्त, आमा दुर्गादेवी गत आईतबारदेखि महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका छन् ।

    यज्ञराजलाई ज्वरो आएको र रक्तचाप घटेको तथा आमा दुर्गादेवीको पनि रक्तचाप घटेको महाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले बताउनुभयो । दुबैको रगत परिक्षणपछि थप उपचारबारे निर्णय लिइने उहाँले बताउनुभयो ।

    बलात्कारपछि हत्या गरिएको अवस्थामा किशोरीको शव गत साउन ११ गते स्थानीय ऊखुबारीमा फेला परेपछि पीडित परिवारसहित महिला अधिकारकर्मीहरुले आन्दोलन थालेपनि प्रहरीले अनुसन्धानका लागि प्रमाण समेत जुटाउन सकेको छैन् । 

    प्रधानमन्त्री, गृहमन्त्रीलाई भेट्दा समेत पीडित परिवारले न्याय पाउन नसकेपछि धर्नामा बसेका हुन् । कञ्चनपुर काण्डको अनुसन्धानमा गम्भिर त्रुटि गरेको भन्दै गृह मन्त्रालयले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट बर्खास्त गरिएपनि अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही मात्रै पर्याप्त नहुने भन्दै पीडित परिवार र अधिकारकर्मीहरू असन्तुष्ट छन् ।

    साउन १० गते साथीको घरमा गएकी किशोरी भोलिपल्ट भीमदत्त नगरपालिका वडा नम्बर २ र १८ को सीमामा रहेको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय आधा दर्जन समिति बनाएपनि घटनाको अझ्ै रहस्योद्घाटन भएको छैन् ।

    अहिले पनि जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो सहितका तीन वटा टोली कञ्चनपुरमै छ । तर ठोस प्रगति देखिएको छैन । 

    प्रकाशित:कार्तिक २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्