अमेरिकामा नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २९, २०७५

    अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च भएको छ । अमेरिकी शिक्षा तथा संस्कृति मामिला र ओपन डोरले अन्तर्राष्ट्रिय शिक्षा साटासाट कार्यक्रम सम्बन्धमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार अमेरिकामा पढ्ने नेपालीको गत वर्षभन्दा १४ दशमलव ३ प्रतिशतले बढेको हो ।

    अध्ययनका लागि अमेरिका पुग्ने विश्वभरका मुख्य २५ मुलुकका विद्यार्थीमध्ये नेपालीको संख्या हालसम्मकै उच्च १३ हजार २ सय ७० पुगेको छ । प्रतिवेदन अनुसार मुख्य २५ मुलुकका विद्यार्थीमध्ये स्नातक तह अध्ययन गर्नेमा नेपाली दशौं स्थानमा छन् ।

    अमेरिकी शिक्षा तथा संस्कृति मामिला मन्त्री मेरी रोयसले अध्ययनका लागि अमेरिका आउने विद्यार्थी आफ्नो सम्पत्ति भएको र हरेक क्षेत्रमा नेतृत्व गर्ने र चुनौतीलाई समाधान गरि मुलुकलाई समृद्धितर्फ लैजाने विद्यार्थी आवश्यक रहेको बताउनुभयो ।

    अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकालाई थप समृद्ध र शक्तिशाली बनाउने उहाँको भनाई छ । सन् २०१७/१८ मा विश्वभरबाट दश लाख भन्दा बढी विद्यार्थीले अमेरिकामा अध्ययन गरिरहेका छन् । यो संख्या अन्य बर्षको तुलनामा अहिलेसम्मकै उच्च रहेको प्रतिवेदनमा उल्लेख छ ।

    संस्थागत सहकार्य र विद्यार्थी साटासाट कार्यक्रमले संख्या बढाउन मुख्य भूमिका खेलेको बताईएको छ । अमेरिका पढ्न जाने विद्यार्थीमध्ये चीन, भारत, बंगलादेश, नेपाल, भियतनाम, भेनेजुएला, ब्राजिल लगायत मुलुकको बाहुल्य छ । 

    प्रकाशित:कार्तिक २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्