मन्त्रिपरिषद्को निर्णय अब पत्रकार सम्मेलन मार्फत सार्वजनिक

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २९, २०७५

    सरकारले मन्त्रिपरिषद बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न शुरु गरेको छ । परिपक्व सूचना जनतामा प्रवाह गराउने उद्देश्यले पत्रकार सम्मेलनबाट मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न थालिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

    बैठक सम्पन्न भएको २४ घण्टा नबित्दै निर्णय सार्वजनिक गर्दा त्यो परिपक्व नहुने भन्दै उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णय बाहिर गइसकेपछि त्यो सच्याउने मौका सरकारलाई हुँदैन । त्यो एउटा कच्चा काम जस्तो पनि हुन जान्छ, त्यसको कतिपय विषयहरुमा भएको पनि छ ।’

    मन्त्रिपरिषदको निर्णयलाई व्यवस्थित बनाउने उद्देश्यका साथ सरकारले परिपक्व निर्णय मात्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

    मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारको निर्णय सार्वजनिक गर्न हरेक साता एक पटक पत्रकार सम्मेलन गर्ने जानकारी दिनुभयो । तर, प्रवक्ताको समय तलमाथि पर्ने भएकोले अहिले नै समय एकीन गर्न नसक्ने उहाँको भनाइ थियो ।

    मन्त्रिपरिषदको निर्णय सञ्चार माध्यमलाई दिर्इंदैन कि भन्ने आशंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषदको जानकारी जनता र मिडियालाई दिईदैन कि भनेर आशंका नर्गन म फेरि पनि अनुरोध गर्न चाहन्छु ।’

    मन्त्री बाँस्कोटाले सरकारले सूचना प्रवाहलाई व्यवस्थित गर्न मात्र खोजिएको भन्दै निर्णय लुकाउन लागेको आशंका नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । यस्तो व्यवस्था अन्य मुलुकमा पनि अभ्यास भइरहेको उहाँको भनाई थियो । मन्त्रिपरिषद्को निर्णय अबको दुई सातामा इलेक्ट्रोनिक कपी, फोटो कपी, अडियो, भिडियो सहित दिने तयारीमा आफूहरु रहेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय पनि सार्वजनिक गर्नुभएको थियो । 

    प्रकाशित:कार्तिक २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्