मंसिर २, २०७५
नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा समितिले प्रदेशगत सुझाव संकलन सुरु गरेको छ । आगामी महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनका लागि समितिले गण्डकी प्रदेशको पोखराबाट सुझाव संकलन सुरु गरेको समिति सदस्य दिल बहादुर घर्तीले जानकारी दिनुभयो ।
प्रदेश २ को जनकपुरमा पनि अब केहीबेरमा सुझाव संकलन सुरु हुने हाम्रा सहकर्मी सन्तोष सिंहले जनाएका छन् । सुझाव संकलनका लागि गण्डकी प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र प्रदेश २ मा वरिष्ठ नेता रामचन्द्र पौडेल जाने कार्यक्रम तय भएको थियो ।
केन्द्रीय समिति बैठक भएकाले शीर्ष नेता नजाने तय भएपनि बिहान ८ बजे नै सुरु हुने भनिएको कार्यक्रम केही ढिला भएको कांग्रेसले जनाएको छ । यस्तै भोलि काठमाडौंबाट, पर्सी मंगलबार विराटनगर र धनगढी तथा आगामी बिहीबार बुलवलबाट सुझाव संकलन गर्ने समितिले जनाएको छ ।
प्रदेशगत रुपमा सुरु गरेको सुझाव संकलन कार्यक्रममा जिल्ला सभापति, भ्रातृ संस्थाका प्रमुख र स्थानीय तहका प्रमुख/उपप्रमुखलाई बोलाएको समिति सदस्य घर्तीले बताउनुभयो ।
महासमिति बैठकमा पेस गर्ने प्रतिवेदनमा सबै प्रदेशबाट आएको सुझावलाई पनि समेट्ने समिति सदस्य घर्तीले बताउनुभयो ।
प्रकाशित:मंसिर २, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्