बिक्रम लामाको ९ महिनापछि कमब्याक

- रेडियो कान्तिपुर, ललितपुर

    मंसिर २, २०७५

    घरेलु फुटबलमा ९ महिनापछि कमब्याक गरेका कप्तान बिक्रम लामाको गोलको मद्दतमा थ्रीस्टार क्लब पल्सर शहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । धरानमा भएको बुढासुब्बा गोल्डकपमा खुट्टामा चोट बोकेका राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर लामा आज मैदान ओर्लिएका थिए ।

    उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ब्रिगेड ब्वाइजविरुद्ध टीमलाई ५–१ को जित दिलाए । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफमा १ गोल गरेको थ्रीस्टारले दोस्रोमा ४ गोल थपेको थियो ।

    लिगमा थ्रीस्टारलाई दोस्रो जित दिलाउन रन्जित धिमाल, सुनिल बल, रञ्जन विष्ट र निराजन खड्काले १–१ गोल गरे । बिग्रेडका राजन तिवारीले दोस्रो हाफमा सान्त्वना गोल फर्काए । दोस्रो जितपछि ६ अंक बटुलेको थ्रीस्टारले गोल अन्तरमा मनाङलाई पछि छोड्दै शीर्ष स्थान कब्जा गरेको हो । 

    यसअघि आजै भएको पहिलो खेलमा पुलिस र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुबै टीमले गोलका केही अवसर खेर फालेपछि उनीहरु अंक बाँड्न बाध्य भएका हुन् । 

    लिगमा भोलि जावलाखेल युथ क्लब र सङ्कटा तथा एनआइबीएल फ्रेण्ड्स र सशस्त्र प्रहरीबीच खेल हुनेछ । त्यस्तै भोलिनै हुने प्रतिस्पर्धामा हिमालयन शेर्पा र सरस्वती युथ क्लब आमने सामने हुनेछन् । 

     

    प्रकाशित:मंसिर २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्