तिलोत्तमा प्रिमियर लिगमा शंकरनगर र मणिग्रामको लगातार दोस्रो जित

- घनश्याम गौतम, बुटवल

    मंसिर ४, २०७५

    रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्राम किङले लगातार दोस्रो जित हात पारेका छन् । शंकरनगरले ज्ञानोदय गोल्ड्समाथि ८ विकेट तथा मणिग्राम किङले एनएससीए टाईर्गसलाई ३ रनले पराजित गर्‍यो  । 

    तिलोत्तमा नगरपालिकाको नवजीवन क्लबको खेल मैदानमा १ सय रनको लक्ष्य पाएको शंकरनगरले ११ ओभरमा २ विकेट गुमाउँदै जित हात पारेको हो । शंकरनगरका विशाल खत्रीले ४२ र सन्दिप सुनारले ३२ रन जोडे । ज्ञानोदयका सुनिल धमला र देवेन्द्र सोमरेले समान १ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले १९ दशमलव ३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो । आनन्द गौडले २१ तथा सुनिल धमलाले १४ रन जोडे । रोयल शंकरनगरका रोहित पौडेल, सुशान्त भारी, सन्दिप सुनार र विष्णु कठौरियाले समान २ विकेट लिए ।

    आजै भएको अर्को खेलमा मणिग्राम किङस्ले दिएको १ सय ३१ रनको लक्ष्य पच्छाएको एनएससीए टाइगर्स १९ दशमलव ५ ओभरमा १ सय २८ रनमा समेटियो । टाईगर्सका सुरज दराईले ४० तथा लाल बहादुर थापाले २० रन जोडे ।

    यसअघि ब्याटिङ गरेको मणिग्राम किङ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन जोड्यो । सन्दिप रजालीले ६४ रन जोड्दा कृष्ण भुषाल १७ रनमा नटआउट रहे । टाईर्गसका अनिल खरेलले ३ विकेट लिए । 

    भोलि हुने पहिलो खेलमा ज्ञानोदय गोल्डस्ले रोयल च्यालेन्जर भैरहवा तथा दोस्रो खेलमा नुसी वारिर्यसले एनएससीए टाईगर्ससँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 

     

    प्रकाशित:मंसिर ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्