लिभरपुल अपराजित, चेल्सीको दोस्रो हार

एजेन्सी
  • म्यान युनाईटेडले आर्सनललाई बराबरीमा रोक्यो

मंसिर २०, २०७५

ईङ्लीस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राख्दा चेल्सी भने पराजित हुन पुगेको छ । म्यानचेष्टर युनाईटेड र आर्सनलले बराबरी खेल्दै अंक बाढेका छन् ।

१५ औं चरणको खेलको समाप्तिमा अपराजित रहेको लिभरपुल अर्को अपराजित टोली म्यानचेष्टर सिटी भन्दा २ अंकले पछि छ । सिटीको ४१ अंक छ भने लिभरपुलको ३९ अंक भएको छ । टटानहाम ३३ अंकमा तेस्रो स्थानमा उक्लिएको छ भने चेल्सी चौथो र आर्सनल पांचौ स्थानमा झरेको छ । म्यानचेष्टर युनाईटेड २३ अंकमा आठौं स्थानमा यथावत छ । 

जारी सिजन ईपीएलमा १२औं जित निकाल्ने क्रममा लिभरपुलले बर्नलीलाई ३–१ गोल अन्तरमा पराजित गर्‍यो । उसको जितमा जेम्स मिल्नर, रोबर्टो फिरिमिनो र जर्दान साक्विरीले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएपनि खेलमा अग्रता भने ५४ औं मिनेटमा ज्याक कर्कको गोलबाट  बर्नलीले लिएको थियो । 

अर्को खेलमा म्यानचेष्टर युनाईटेड र आर्सनलले २–२ को बराबरी खेलेका छन् । आफ्ना स्टार खेलाडि पाउल पोग्बा र रोमेलु लुकाकु विना नै मैदान उत्रिएको म्यान युनाईटेडले दुई पटक पछि परेको अवस्था उल्ट्याउदै अंक खोसेको हो । पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफको ६८ औं मिनेटमा मार्कोस रोजोको आत्मघाती गोलबाट आर्सनलले अग्रता लिएको थियो तर त्यसको एक मिनेटपछि नै जेशी लिंगार्डले गोल गर्दै म्यान युनाईटेडको हार टारेका थिए । पहिलो हाफमा म्यान य्ुनाईटेडका लागि एन्थोनी मार्सीएल र आर्सनलका लागि स्कोद्रान मुस्तफीले गोल गरेका थिए । 

अर्को खेलमा चेल्सी, तुलनात्मक रुपमा कमजोर वोल्भरहेप्टनसँग २–१ ले पराजित हुन पुग्यो । पछिल्ला ३ खेलमा यो चेल्सीको दोस्रो हार हो । पराजयपछि शीर्ष स्थानको म्यानचेष्टर सिटी भन्दा चेल्सी १० अंकले पछि परेको छ । रुवेन लोफ्टसको गोलबाट १८ औं मिनेटमा अग्रता बनाएको चेल्सीविरुद्ध वोल्भ्सले दोस्रो हाफमा चार मिनेट भित्र २ गोल गरेको थियो । उसको जितमा ५९ मिनेटमा रल जिमेनेज र ६३ औं मिनेटमा डियगो जोटाले गोल गरे । जितपछि उल्भ्स १९ अंकमा १२ औं स्थानमा उक्लिएको छ ।

गएराती नै टटनहामले साउथएप्टनलाई ३–१ ले पराजित गर्दै तेस्रो स्थान ओगटेको छ । ह्यारी केनको गोलबाट नवौं मिनेटमा अग्रता बनाएको टटनहामका लागि लुकास मौरा र सोन हेङ मिनले थप गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा चार्ली एष्टिनले साउथएप्टनका लागि सान्त्वना गोल गरे ।  

न्युकासल युनाईटेडलाई १–१ गोलको बराबरीमा रोक्दै २३ अंकमा एभरटन छैठौं स्थानमा उक्लिएको छ । लेष्टर सिटी र फुलहामले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । 

 

प्रकाशित:मंसिर २०, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्