बालाचतुर्दशी पर्व : शतबीज छरियो

काठमाडौं

    मंसिर २०, २०७५

    - दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै आज बालाचतुर्दशी पर्व मनाइएको छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी जाग्राम बसेका थिए ।

    दीपदानपछि आज बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको हो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १ सय ८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर लगायतका स्थानमा  शतबीज छर्ने गरिन्छ । आज छरेको एक दाना एक तोला सुन बराबर हुने जनविश्वास रहेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको हिजैबाट पशुपतिमा भीड लागेको थियो ।

    शतबीज भनिएपनि हाल सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि सो गणेशको मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिने चलन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । 

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्