कांग्रेसमा पदाधिकारी संख्या र सभापतिले मनोनयन गर्ने विषयमा सदस्यहरु विभाजित

काठमाडौं

    मंसिर २०, २०७५

    नेपाली कांग्रेसभित्र विधान मस्यौदामा उल्लेख भएको पदाधिकारी संख्या र सभापतिले मनोनयन गर्ने विषयलाई लिएर सदस्यहरु विभाजित भएका छन् । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलका क्रममा बोल्ने सदस्यले गुटगत रुपमा नै धारणा राखेका छन् ।

    संस्थापन पक्षले पदाधिकारीको संख्या कम गर्नुपर्ने र निश्चित प्रतिशत सभापतिले मनोनयन गर्ने प्रावधान विधानमा राख्नुपर्ने बताएका छन् । संस्थापन इतर पक्षले भने पदाधिकारी संख्या बढाएर सबै निर्वाचित हुनु पर्ने प्रावधान राख्न सुझाव आएको नेता गगन थापाले जानकारी दिनुभयो । अन्य विषयमा भने सबैको व्यक्तिगत धारणा आएको उहाँको भनाई छ ।

    अनुशासन समिति निर्वाचित गर्नुपर्ने, ७० वर्षे उमेर हद लगाउनुपर्ने, सभापति पराजित भए राजीनामा दिनुपर्ने जस्ता विषयमा सबैले व्यत्ति:गत धारणा राखेको नेता थापाले बताउनुभयो । विधान माथीको एक साताको छलफलमा ५० जनाले धारणा राखिसकेका छन् । आज र भोलिमा विधान मस्यौदामाथीको छलफल सकेर आर्थिक प्रतिवेदनमाथिको छलफल अघि बढाउने कांग्रेसले जनाएको छ ।

    सहमहामन्त्री प्रकाश शरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले आफ्नो प्रतिवेदन केन्द्रीय समितिमा हिजो नै पेस गरिसकेको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको राजनीतिक मस्यौदा समितिले भने काम अन्तिम चरणमा पुगेको बताएको छ । भोलिसम्ममा प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्ने सो समितिले जनाएको छ । कांग्रेसले आगामी महासमिति बैठकमा पेस गर्ने एजेन्डा तय गर्न पछिल्लो समय केन्द्रीय समितिको बैठकलाई निरन्तरता दिएको हो । 

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्