दुई हजारले लियो ज्यान

- हरि गौतम, रुकुम पश्चिम

    मंसिर २०, २०७५

    मंसिर ७ गते रुकुमको आठबीसकोट नगरपालिका–४, गिदिविसामा एउटा घटना भयो । सोही नगरपालिका–५, २८ वर्षीय धनबहादुर विकले सोही ठाउँका २२ वर्षीय रविन सार्कीमाथी कुटपिट गरे । आठबीसकोट नगरपालिकाको केन्द्र राडीबाट घर जाँदै गरेका सार्कीलाई विकले बाटोमै रोकेर कुटपिट गरे ।

    उनको कुटपिटबाट घाइते सार्कीको उपचारको क्रममा मृत्यु भयो । नेपालगञ्ज मेडिकल कलेजमा सार्कीको मृत्यु भयो । विकलाई प्रहरीले १० गते नै जाजरकोटबाट पक्राउ गर्‍यो । 

    उक्त हत्याको पछाडि खास ठूलो कारण नभएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका विकसँगको सोधपुछको क्रममा २ हजार रुपैयाँकै कारण झगडा भएको खुलेको प्रहरीले जनाएको छ ।

    ‘सार्कीले विकलाई दिनुपर्ने २ हजार रुपैयाँ नदिएका कारण कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले भन्नुभयो, पहिल्यै तिनुपर्ने नगद नतिरेपछि विकले सार्कीलाई कुटपिट गरेको देखिन्छ । अनुसन्धानको क्रममा विक र सार्कीबीच कुटपिटकै पूरानो रिसिबी रहको पनि पाइएको डीएसपी खड्काले बताउनुभयो । 

    केही समय पहिला सार्कीले विकलाई कुटपिट गरेको र त्यो कुटपिट गरेको उपचार गर्न २ हजार रुपैयाँ खर्च भएको थियो । त्यही उपचार खर्च वापतको रकम सार्कीले नदिएपछि उसलाई कुटपिट गरेको बयान विकले प्रहरीलाई दिएका छन् ।

    उपचार खर्च बापतको २ हजार रुपैयाँ पटक पटक माग्दा पनि नदिएपछि सार्कीमाथी कुटपिट गरेको विकले स्वीकारेको डीएसपी खड्काले बताउनुभयो । 

    विकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रुकुम जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्