बीपी प्रतिष्ठानमा फाइब्रोस्क्यानबाट कलेजोको उपचार सुरु

- प्रदीप मेन्याङ्बो, धरान

    मंसिर २०, २०७५

    सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कलेजो सम्बन्धी उपचारका लागि बिहीबारदेखि आधुनिक उपकरण फाइब्रोस्क्यान प्रयोगमा ल्याएको छ । उक्त उपकरण प्रयोग गर्न थालेपछि पूर्वका कलेजो रोगीहरुले राहत पाएका छन् ।

    स्वीटजरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले फाइब्रोस्क्यान मेसिन उपलब्ध गराएकाले प्रतिष्ठानमा कलेजो सम्बन्धी रोगको उपचार आधुनिक प्रविधि प्रयोग गर्न थालिएको हो । उक्त उपकरणको अभावमा यसअघि चिकित्सकहरुले अल्ट्रासाउण्ड र वायोप्सी गरेपछि मात्र कलेजोको अनुमानित अवस्थाका आधारमा उपचार हुने गर्दै आएका थिए । 

    आधुनिक उपकरण उपलब्ध भएपछि बायोप्सी नगरी नै सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक बिरामीहरुको कलेजोमा भएको संक्रमणबारे सहजै परीक्षण हुने भएको प्रतिष्ठानको ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी डिभिजनका प्रमुख डा. विक्रम प्रधानले बताउनुभयो ।

    कलेजोका बिरामीको उपचार गर्न उक्त उपकरणको अति आवश्यक हुँदाहुँदै पनि उपलब्ध हुन नसक्दा प्रभावकारी उपचार गर्न समस्या भइरहेको भन्दै उहाँले नयाँ प्रविधि र उपकरण उपलब्ध गएसँगै कलेजो बिरामीका लागि राहत पुगेको  बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मानव शरीरमा कलेजो अति नै कमलो अंग भएपनि धेरै कामहरु गर्छ । तर हेपाटाइटिस बी र सी भएका र मादक पदार्थ बढी सेवनले कलेजो खराब भएर आउनेहरुको संख्या अत्यधिक बढ्न थालेको छ । ‘कलेजोमा समस्या आएपनि बिस्तारै कडा बन्दै जान्छ । सही तथ्य देखाउने उपकरण नहुँदा परम्परागत उपचार विधिले ‘फ्याटि लिभर’ छ भन्ने मात्र थाहा हुन्थ्यो । अब फाइव्रोसिस उपकरणले कति कडा भएको छ भनेर भन्न सकिन्छ । सोही अनुसार उपचार गर्न सकिने भएको छ ।’

    कलेजोको वास्ताविक अवस्था अर्थात फाब्रोसिस कति छ वा कलेजो कति कडा भएको छ भन्नेबारे एकिनका साथ उपचार हुने भएको उहाँले बताउनुभयो । कलेजोमा हुने हेपाटाइटिस बी र सी तथा मदिराका सेवनका कारण कलेजोमा घाऊ, चिल्लो पदार्थ तथा फाइब्रोसिस भएका विरामीहरुको उपचार पद्धति अत्यन्तै सहज हुन गएको उहाँले बताउनुभयो ।

    अब कलेजो कुन अवस्थामा छ भन्ने समेत स्पष्ट थाहा पाउन सक्ने भएकाले उपचार प्रभावकारी हुने उहाँको भनाई थियो । 

    जेनेभाबाट प्रतिष्ठान आएका डा. लउरेन्ट स्फरले नेपालको महत्वपूर्ण स्वास्थ्य शैक्षिक संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै नेपालका बिरामीहरुलाई धेरै फाइदा पुग्ने उहाँले बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले कलेजोको उपचारमा महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रतिष्ठानमा फाइब्रोसिस उपलब्ध भएकाले पूर्वका कलेजोका बिरामीहरु अब अन्त जानु नपर्ने भएको छ ।’

    उक्त उपकरणको भारतमा १ लाख ४५ हजार युरो मूल्य रहेको बताइएको छ । प्रतिष्ठानमा कलेजोका रोगीहरुको संख्याको चाप बढेकाले प्रतिष्ठान आफै फाइब्रोस्क्यान मेसिन खरिद गर्न लागेको अवस्थामा जेनेभा युनिभर्सिटी अस्पतालले सहयोग गरेपछि प्रतिष्ठानको करीब २ करोड रुपैयाँ बचत भएको उहाँले बताउनुभयो ।

    प्रतिष्ठानमा कलेजो फुटेरा रक्तस्राव भएको, एसिड खाएर खुम्चेको अन्ननली तथा मलद्धारको समेत सफल उपचार भईरहेको र विगतमा जोखिमपूर्ण तरिकाले छाती तथा पेटबाट कलेजोको नमुना झिक्ने गरेकोमा अब विना जोखिम घांटीको नसावाट झिक्न थालिएको बताइएको थियो ।

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्