प्लाष्टिक मुक्त शहर बनाउन सबैको हातेमालो जरुरी : मन्त्री राई

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २०, २०७५

    शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्लाष्टिक मुक्त शहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताउनुभएको छ । स्टेम फाउण्डेसन नेपाल नामक संस्थाले राजधानीको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा प्लाष्टिक मुक्त शहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताउनु भएको हो ।

    मन्त्री राईले बढ्दो प्लाष्टिकको प्रयोगका कारण वातावरणीय सन्तुलन बिग्रने खतरा रहेको उल्लेख गर्नुभयो । प्रयोग गरेर फालिएका एक लाख प्लाष्टिकको झोलाबाट मृत सागरको आकारको नक्सा बनाएर विश्व कीर्तिमान राखी प्लाष्टिकको प्रयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले फाउण्डेसनले सो कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रममा मन्त्री राईले बढ्दो वातावरणीय प्रदूषणलाई ध्यानमा राख्दै प्लाष्टिकका झोलाको प्रयोग कम गर्न सरकारले अधिकतम प्रयास गरेपनि सबैको सहयोग विना त्यसले मूर्तरुप पाउन नसकेको बताउनुभयो । 

    मन्त्री राईले भन्नुभयो, ‘संसारमा एउटा मृत सागर छ, जहाँ कुनैपनि जीवजस्तुको अस्तित्व छैन, यदी हामीले यसैगरी प्लाष्टिकको प्रयोगलाई बढावा दिऔं भने थप मृत सागर बन्ने खतरा छ, त्यसैले आजैबाट प्लाष्टिकको प्रयोग रोक्न अघि सरौँ ।’

    उहाँले प्लाष्टिकजन्य फोहर व्यवस्थापनका लागि सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी समेत दिनुभयो ।  

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्