अपराजित आर्मीको दोश्रो बराबरी

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २०, २०७५

    पल्सर शहिद स्मारक ए डिभिजन लिगमा छैटौँ चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी र एनआइबीएल, फ्रेण्ड्स तथा ब्रिगेड ब्वाइज र मच्छिन्द्र जसरी मैदान प्रवेश गरेका थिए । उसैगरी फर्किए । जसका कारण अंक तालिकामा खासै उलटफेर भएन ।

    छैटौं चरण सकिंदा अपराजित यात्रालाई कायम राखेपनि आर्मीले दोस्रो बराबरी आत्मसात गर्नुपर्‍यो । मच्छिन्द्र र न्युरोड टीम एनआरटी अझै जितको खोजीमा छन् । एनआरटी १ अंकमा तालिकाको पुछारमा रहँदा दोस्रोमा रहेको मच्छ्रिन्द्रको ३ अंक छ ।

    शतप्रतिशत नतिजासहित सिग्नेचर मनाङ मर्स्याङदी क्लब तालिकाको शीर्ष स्थानमा छ । सीएमजी संकटासँगै १५ अंक भएपनि रुस्लान थ्री स्टार दोस्रोमा छ ।  

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा फ्रेण्डस् क्लबले आर्मीलाई गोलरहित बराबरीमा रोक्दै अंक खोस्यो ।

    बराबरीले दोस्रो स्थानमा उक्लने आर्मीको सपनामा धक्का पुग्यो । आर्मी १४ अंकमा चौंथो र ५ अंकमा फ्रेण्डस् १० औँ स्थानमा छ । 

    छैटौं चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाईज र मच्छिन्द्रले पनि गोल रहित बराबरी खेल्दै अंक बाँडे । तालिकामा ४ अंक भएको जावलाखेल ११ औं र ब्रिगेड १२ औँ स्थानमा छ ।

    सातौँ चरणका खेल पर्सिदेखि सुरु हुनेछ । पर्सि विभागीय पुलिसले हिमालयन शेर्पा र न्युरोड टीम एनआरटीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्