वान्जु पक्राउ प्रकरणमा अमेरिका र क्यानडाले स्पष्टिकरण दिनुपर्छ : चीन

बीबीसी

    मंसिर २०, २०७५

    विश्वविख्यात मोबाईल कम्पनी हुवावेकी प्रमुख आर्थिक वित्त अधिकृत मेङ वान्जु पक्राउ प्रकरणमा अमेरिका र क्यानडाले स्पष्टिकरण दिनुपर्ने माग चीनले गरेको छ । वान्जुको तत्काल रिहाई गर्न आग्रह गर्दै चीनले उनको पक्राउ यथोचित नभएको प्रतिक्रिया दिएको छ ।

    चिनियाँ मोवाईल कम्पनी हुवावेका संस्थापककी छोरी समेत रहेकी वान्जुलाई अमेरिकाको आग्रहमा क्यानडाले यही डिसेम्बर १ मा पक्राउ गरेपछि चीनले यसबारे दुबै मुलुकबाट स्पष्टीकरण मागेको हो ।

    वान्जु पक्राउबारेका अभियोगहरु सार्वजनिक नगरेपनि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध विपरीत कार्य गरेका कारण पक्राउ गरिएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । 

    क्यानडाको न्याय मामिला सम्बन्धी मन्त्रालयले उनीमाथि भोलि सुर्पुदुगी मुद्दामा बहस चलाईने जनाएको छ । पछिल्लो समय अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लङ्घन गर्दै इरानमा अमेरिकी उत्पादनहरु पठाएको विषयमा अमेरिकी अधिकारीहरुले छानबिन समेत गरिरहेका छन् । 

    यसअघि अमेरिकी सांसदहरुले हुवावेका सामग्रीहरु अमेरिकाविरुद्धको गुप्तचरी कार्यमा प्रयोग हुनसक्ने भन्दै कम्पनी राष्ट्रिय सुरक्षाका लागि खतरा हुने औंल्याएका थिए ।

    अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै हुवावे हालै मात्रै स्मार्ट फोन निर्माण गर्ने कम्पनीको सूचीको दोस्रोमा उक्लिएको थियो । यो सूचीमा कोरियाली कम्पनी सामसङ शीर्ष स्थानमा छ ।

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्