चिनीको विषयमा अख्तियारले छानविन थाल्यो

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २०, २०७५

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनीको मूल्य निर्धारण सम्बन्धमा छानविन सुरु गरेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन तथा छानविन प्रतिवेदनको आधारमा आयोगले थप छानविन सुरु गरेको हो । 

    सरकारले चिनीमा कोटा निर्धारण गरेपछि अस्वभाविक रुपमा मूल्य बढेको ठहर गर्दै चिनीमा परिमाणत्मक बन्देज तथा मूल्य निर्धारणको विषयमा विस्तृत छानविनका लागि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत मंसिर ४ गते आयोगलाई पत्राचार गरेको थियो । 

    आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले लेखा समितिको निर्देशन बमोजिम सो विषयमा छानविन थालिएको जानकारी दिनुभयो । गत हप्ता मात्र पत्र प्राप्त भएको भन्दै उहाँले सो सम्बन्धमा आयोगले छानविन शुरु गरिसकेको बताउनुभयो । 

    अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय तथा मातहतका विभागको मिलेमतोमा सरकारले चिनीमा परिमाणत्मक बन्देज लगाएका कारण मूल्य वृद्धिमा प्रत्यक्ष सहयोग पुगेको तथा ठूलो आर्थिक चलखेल भएको भन्दै समितिले छानविनका लागि आयोगलाई भनेको थियो । लेखा समिति सचिव रोजथान पाण्डेले भने छानविन बारे पछिल्लो निर्णय आइनसकेको जानकारी दिनुभयो ।

     

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्