पुल्चोकस्थित मन्त्री निवासमा अतिथि गृह बनाउने सरकारको निर्णय

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २०, २०७५

    सरकारले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि नुवाकोटको बन्चरेडाँडामा ल्यान्ड फिल्ड साइट निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधार सहितको ल्यान्ड फिल्ड साइट निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने निर्णय भएको जनाएको हो ।

    यस्तै, ललितपुर महानगरपालिका सैंबु भैंसेपाटीस्थित सांसद आवासका लागि छुट्याइएको १ सय ४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा आवास भवन र प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरेको सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

    ललितपुरको पुल्चोकस्थित हाल मन्त्री निवास रहेको क्षेत्रमा १० वटा राजकीय अतिथि गृहको निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

    यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रालय बनाउने, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र साविक कोल गाविसको कार्यालयबाट परिवर्तन गरी तक्सेरामा बनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

    प्रकाशित:मंसिर २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्