इपीएलमा विराटनगर वारियर्सको विजयी सुरुवात

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २२, २०७५

    विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले हराउँदै विराटनगरले जितको खाता खोलेको हो ।

    ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले एक बल अगावै ७ विकेट गुमाएर भेट्टायो । विराटनगरका करण केसीले सर्वाधिक ३६ रन जोडे । उनले ३ छक्का र १ छक्का हाने ।

    आशिफ शेख १९ र अनिल शाहले ११ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यान क्रिजमा जम्न सकेनन् । ललितपुरका गौरव तोमरले ३ तथा सन्दिप लामिछानेले १ विकेट लिए । 

    यसअघि टस जितेर ब्याटिङ गरेको  ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन जोड्यो । कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन जोडेको इनिङस्मा सन्नी पटेलले २० र पवन सर्राफले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    ओपनिङ ब्याट्स्म्यानको रुपमा मैदान प्रवेश गरेका जयकिशन कोल्सावाला ५ बलको सामना गर्दै १ चौका हान्दै मैदान बाहिरिए ।

    सन्दिप लामिछाने, कुशल भुर्तेल र योगेन्द्र सिंह कार्की शुन्य रनमा डक आउट भए । विराटनगरका लागि करण के.सी र रिलोफ भान डेर मेर्वेले समान २/२ विकेट लिए । 

    लिगमा भोलि ललितपुर प्याट्रियट्स र चितवन टाईगर्स तथा भैरहवा ग्लाडियर्टस र पोखरा राईनोज्बीच प्रतिस्पर्धा हुनेछ । 

     

    प्रकाशित:मंसिर २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्