प्रदेश सरकार गठनको १० महिनामा अन्तर प्रदेश परिषद बैठक बस्दै

काठमाडौं

    मंसिर २३, २०७५

    प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक अन्तर प्रदेश परिषद बैठक आज बस्दैछ । सिंहदरबारमा विहान साढे ११ बजे बस्ने बहुप्रतिक्षित सो बैठक संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, आवश्यक कानुन निर्माणलगायत विषयमा केन्द्रीत हुने मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

    बैठकका लागि सातै प्रदेशका मूख्यमन्त्री सहित ८० जना भन्दा बढीलाई निम्ता पठाइएको छ । मुख्यमन्त्रीहरु हिजो नै संघीय राजधानी काठमाडौं आएर राजनीतिक भेटघाट सुरु गरिसकेको छन् । लामो समय पछि बस्न लागेको सो बैठकबाट संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, विकास योजनाको कार्यान्वयन, योजना हस्तान्तरण, कार्यालय हस्तान्तरण, संगठन संरचना, कर्मचारी समायोजन, प्रहरी प्रशासनको परिचालन, आवश्यक कानुन निर्माणजस्ता दर्जनौं विषयमा ठोस निष्कर्ष आउन उनीहरुको अपेक्षा छ । परिषद बैठकमा प्रधानमन्त्री, केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरूको सहभागिता रहने संवैधानिक व्यवस्था छ । बैठकमा केन्द्र सरकारका सबै मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा नियन्त्रक, प्रदेशका मूख्यमन्त्री र प्रमुख सचिव सहभागी हुने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जनाएको छ । 

    परिषद बैठक पहिलोपटक बस्ने भए पनि प्रधानमन्त्री तथा मुख्यमन्त्रीहरूबीचको औपचारिक बसाइ भने यो दोस्रो पटक हो । गत वर्ष चैत पहिलो साता प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल गर्नुभएको थियो ।

    भदौ २१ गते पोखरामा मूख्यमन्त्रीहरुले भेला गरेर अन्तर प्रदेश बैठकमा पेस गर्ने एजेन्डा तय गरेपछि प्रधानमन्त्री ओली त्यसप्रति असन्तुष्ट हुँदै भदौ २४ गते बोलाएको बैठक भने सबै तयारी पूरा भएपनि अन्तिम समयमा स्थगित गर्नुभएको थियो । 

     

    प्रकाशित:मंसिर २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्