चार मुलुकका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २३, २०७५

    प्रतिनिधिसभाको संसदीय सुनुवाई समितिले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको हो ।

    बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि डा. अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्स् यूएईका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

    सिंहदरबारमा करीब ६ घण्टा लगाएर समितिका सदस्यहरुले प्रस्तावित चारै जना राजदूतसंग उनीहरुको भावी कार्ययोजना, कार्यक्षमता, योग्यता र नेपालमा लगानीको सम्भावना लगायतका विषयमा प्रश्न गरेका थिए ।

    विभिन्न ४ मुलुकमा प्रस्तावित राजदूत विरुद्ध व्यक्तिगत रुपमा कुनै उजुरी नआएको र समितिमा उठेका प्रश्नहरुमा उनीहरुले चित्त बुज्दो जवाफ दिएकाले सर्वसम्मतिले नाम अनुमोदान गरेको समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

    राजदूत नियुक्ती प्रक्रिया समावेशी हुन नसकेको भन्दै संसदीय समितिले सरकारको ध्यानाकर्षण समेत गराएको छ । अहिले नियुक्त भएका राजदूतहरु समावेशी ढंगले चयन हुन नसकेको भन्दै आगामी दिनमा राजदूत नियुक्त गर्दा समावेशी अवधारणा अपनाउन सरकारको ध्यानाकर्षण गराईएको सदस्य भट्टराईले बताउनुभयो ।

    प्रस्तावित राजदूतहरुको बारेमा संसदीय समितिले अनुमोदन गरेपछि अब सरकारले उनीहरुको एग्रिमो सम्बन्धित देशमा पठाउने छ । एग्रिमो स्वीकृती भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

    प्रकाशित:मंसिर २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्