संघीयतालाई मजबुद बनाउनु पर्दछ : प्रम ओली

- रेडियो कान्तिपुर, काठमाडौं

    मंसिर २३, २०७५

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजबुद बनाउनु पर्ने बताउनुभएको छ । अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताउनुभएको छ ।

    “मुख्य मन्त्रीको कार्यलय, प्रदेश मन्त्रीको कार्यलय, आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले तिनलाई व्यवहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौंला । खेलमा पस्ने बित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।”

    संघीयता कार्यन्वयनका लागि सरकारले गति बढाउनु पर्दछ । “हामी गलत बाटोमा गएका छैनौँ । संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

    आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्ना धारणा राखेका थिए । बाँकी तीन वटा प्रदेशका मुख्यमन्त्रीहरुले भोलिको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ ।

    बैठक भोलि १० बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा संघीयता कार्यन्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामहरुका विषयमा प्रधानमन्त्री कार्यलय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवहरुले आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

    प्रकाशित:मंसिर २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्