कमजोर एनआरटी सरस्वतीसँग भिड्दै

काठमाडौं

    मंसिर २७, २०७५

    शहिद स्मारक ए डिभिजन लिग फुटबलको जारी सिजन सवैभन्दा कमजोर देखिएको न्युरोड टिम एनआरटीले आज सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ७ चरणको खेलको समाप्तिमा मात्र एक अंक जोडेको एनआरटी आठौं चरणबाट भने सुखद सुरुवातको लक्ष्यमा छ ।

    लिग चरणको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मीलाई बराबरीमा रोक्नु बाहेक त्यसपछि एनआरटीले अंक थप्न सकेको छैन । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ११ बजे हुने खेलमा एनआरटी जितको खोजीमा रहंदा नवौं स्थानको सरस्वती अंक थप्ने दाउमा हुनेछ । सरस्वतीको ६ अंक छ । 

    दिउँसो साढे २ बजे सुरु हुने खेलमा सशस्त्र प्रहरीको एपीएफ र जावलाखेल युथ क्लब तथा संकटा क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौंको हल्चोकस्थित आफ्नै मैदानमा हुने खेलमा एपीएफ चौथो जितको खोजीमा मैदान उत्रनेछ । राष्ट्रिय टिमका खेलाडि भएरपनि आठौं चरणको खेल हुन लाग्दा समेत १० अंकमा आठौं स्थानमा रहेको एपीएफ आजको खेलमा जित निकाल्दै तीन स्थान छलाङ मार्ने दाउमा हुनेछ । ४ अंकमा ११ औं स्थानमा रहेको जावलाखेल पनि लय समाउन प्रयासरत एपीएफलाई रोक्दै २ स्थान सुधार गर्ने लक्ष्यमा मैदान उत्रनेछ । 

    सोही समय एन्फा कम्प्लेक्समा भने शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक बराबरी गर्ने उद्धेश्य सहित संकटा क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गरिरहेको हुनेछ । थ्रीस्टारसँग समान १८ अंक भएर पनि गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको संकटा आजको खेलमा विजयी भए ललितपुरे क्लब थ्रीस्टारसँग स्थान खोस्न सफल हुनेछ । संकटालाई दोस्रो हार चखाउने लक्ष्य सहित मैदान उत्रन लागेको हिमालयन शेर्पा ११ अंकमा छैठौं स्थानमा छ । 

    सातैं चरणका खेलको समाप्तिमा सतप्रतिशत नतिजासहित मनाङ २१ अंकमा शीर्ष स्थानमा छ अर्को अपराजित टोली आर्मी १७ अंकमा चौथो स्थानमा छ । मच्छिन्द्र क्लब र एनआरटीले जित निकाल्न सकेका छैनन् ।  

     

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्