प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस

- बासु खड्का, काठमाडौं

    मंसिर २७, २०७५

    संवैधानिक परिषदले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मत सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषदको बैठकले राणाको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

    प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण बिभिन्न आयोग गठन लगायत बिषयमा भने अर्को बैठकमा छलफल गर्ने अध्यक्ष तिमल्सिनाले बताउनुभयो । 

    परिषदले राणाको नाम सिफारिस गरेसँगै प्रस्तावित प्रधानन्यायाधीश राणामाथि संसदीय सुनुवाईको बाटो खुलेको छ । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषदले राणाको नाम सिफारिस गरेको हो । न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

    परिषद्ले नाम सिफारिस नगरेपछि प्रधानन्यायाधीश भएर अवकाश पाउने जोशीको सम्भावना पनि सकिएको छ ।

    यसअघि नै अस्वीकृत भएका जोशीमाथि थप सुनुवाई नगर्ने अडान संसदीय समितिले लिएको थियो । सुनुवाई समितिले जोशीलाई अस्वीकृत गरेपछि मिश्र प्रधानन्यायाधीश हुनुभएको थियो । 

    यसैबीच सर्वोच्च अदालतले २७ वर्षपछि पूर्ण कार्यकाल अर्थात ४ वर्षका लागि प्रधानन्यायाधीश प्राप्त गर्न लागेको छ । २०४८ सालमा प्रधान न्यायाधीश भएका विश्वनाथ उपाध्यायले ४ वर्षे पूर्ण कार्यकाल खानु भएको थियो ।

    त्यसयता कुनै पनि प्रधान न्यायाधीशले त्यति लामो अवधि पाएका छैनन् । प्रस्तावित प्रधान न्यायाधीश राणाले ०७९ पुससम्म चार वर्ष प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नु हुने छ । 

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्