राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी आन्दोलित

- दुर्गालाल केसी , दाङ
  • स्वास्थ्य सेवा ठप्प, बिरामी अलपत्र

मंसिर २७, २०७५

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । अस्पताल विकास समिति अन्तर्गतका ६२ कर्मचारीले ६ महिनादेखि तलब नपाएपछि आन्दोलन थालेका हुन् । उनीहरुले आकस्मिक बाहेकका काम रोकेर बुधबारदेखि प्रतिष्ठानमा धर्ना दिइएका हुन् ।

कर्मचारी आन्दोलित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ भने, बिरामीहरु उपचार नपाएर फर्किइरहेका छन् ।

राप्ती उपक्षेत्रीय अस्पताल हुँदा विकास समिति अन्तर्गत नियुक्त कर्मचारीले साउनदेखि तलब सुबिधा पाउन नसकेको संघर्ष समितिका अध्यक्ष हिमराज गौतमले बताउनुभयो । असोज १२ मा अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएपछि कर्मचारी पनि प्रतिष्ठान मातहत आएका थिए ।

सरकारले अस्पताल विकास समिति खारेज गरेपछि असार यता कर्मचारीको म्याद थप भएको थिएन । अस्पताल प्रतिष्ठानमा गाभिएपछि कर्मचारी व्यवस्थापन झनै समस्या भएको छ । 

प्रतिष्ठानले समायोजन हुन चाहने कर्मचारीलाई निवेदन दिन आह्वान गरेको थियो । सबै कर्मचारीले समायोजनका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएको गौतमले बताउनुभयो ।

पुराना कर्मचारीको व्यवस्थापन नगर्दै नयाँ कर्मचारी भर्ना थालिएको उहाँले बताउनुभयो । अस्पतालमा ३० वर्षदेखि कार्यरत कर्मचारी रहेको र उनीहरुको पेशागत सुरक्षा र तलब सुबिधामा प्रतिष्ठानले कुनै चासो नदिएको संघर्ष समिति सदस्य कमानसिंह पुनले बताउनुभयो । 

अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीको म्याद असारयता नथपिएका कारण तलब खुवाउन समस्या भैरहेको प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले बताउनुभयो ।

नियुक्ती पत्रविना तलब खुवाउन समस्या भएको तर हाजिर गरेर नियमित काम गरिरहेका कर्मचारीलाई तलब खुवाउनुपर्छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित:मंसिर २७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्