जनतान्त्रिक तराई मुक्ति मोर्चाले बुझाए तीन थान पेस्तोल

- देवनारायण साह, मोरङ

    मंसिर २७, २०७५

    अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) ले सरकारी वार्ता टोलीलाई तीन थान पेस्तोल बुझाएर छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा हतियार बुझाएर सार्वजनिक भएका हुन् ।

    सप्तरीको जमुनी मधेपुरा ४ बस्ने मोर्चाका अध्यक्ष विवेक भन्ने विनोदकुमार यादव, केन्द्रीय सदस्य सुनसरीको कोशी गाउँपालिका ८ का रामु भन्ने रामनन्दनकुमार कामैत, सप्तरीको गोबरगाढा २ का चन्द्रशेखर भन्ने विनायक कुमार यादव र त्रिकौल ४ का जयप्रकाश लिचपुरिया सार्वजनिक भएका हुन् ।

    उनीहरुले सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेलाई दुई थान कटुवा पेस्तोल र एक थान लोकल मेड पेस्तोल बुझाएका हुन् ।

    हतियार बुझाउने क्रममा वार्ता टोलीका सदस्य ताराकान्त चौधरी, सुरेश आलेमगर, सदस्य सचिव गृह मन्त्रालयका सहसचिव विश्वराज न्यौपाने, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक मनिष थापा, उप–अनुसन्धान निर्देशक विमल डंगोल, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठको उपस्थिति थिए ।

    उनीहरु जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुटिएर पूर्वी मधेसमा सशस्त्र गतिविधि गर्दै आएका थिए । मोर्चाका अध्यक्ष यादवले आफूहरुले खुल्ला राजनीतिमा आएर देश र जनताको सेवा गर्ने उद्देश्यले हतियार बुझाएर सार्वजनिक भएको बताए । उनले यसअघि सशस्त्र राजनीति गरेको आरोपमा सरकारले लगाएका मुद्दाहरु फित्र्ता लिनुपर्ने माग गरे । 

    यादवले आफूहरुसँग भएको तीन वटा पेस्तोल बुझाएको र बाँकी हतियार पुस ७ गतेभित्र संकलन गरेर बुझाउने बताए । 

    सरकारी वार्ता टोलीका संयोजक पाण्डेले विवेक नेतृत्वको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाले हतियार बुझाएर नि:शस्त्र भएको घोषण गर्नु ठूलो उपलब्धी भएको बताउनुभयो । 

    पाण्डेले सरकारले आफूहरुलाई विगतका शान्ति तथा पुन: निर्माण मन्त्रालय र आनन्द ढुंगाना नेतृत्वको वार्ता टोलीले सशस्त्र सूमहहरुसँग गरेको वार्तालाई निष्कर्षमा पुर्‍याउन र अझै असन्तुष्ट रहेका राजनीतिक उद्देश्यका सशस्त्र समूह तथा पार्टीसँग वार्ता गर्ने जिम्मेवारी दिएको बताउनुभयो ।

    ‘विगतका वार्ता टोलीले गरेको र बाँकी राजनीतिक गतिविधि गरिरहेका गरी ४५ वटा समूह सूचीकृत गरेर काम थालेका थियौं,’ उहाँले भन्नुभयो, ‘सूचीकृत गरेकामध्ये २४ वटा समूह मात्रै स्तित्वमा रहेको हामीले पायौं ।’ 

    आनन्द ढुंगानाले वार्ता गरेका १८ वटा र नयाँ ४ समूह पहिचान गरेर आफूहरुले काम थालेको पाण्डेले बताउनुभयो । ‘नयाँ ४ वटामध्ये सिके राउत समूह हाम्रो विशलेषणमा राजनीतिक पार्टीमा परेनन्,’ उहाँले भन्नुभयो, ‘सिके राउतले देश विखण्डनको मुद्दा लिएर अघि बढेकोले त्यो समूहसँग वार्ता गर्ने हाम्रो कार्यादेशभित्र परेन ।’ 

    अर्को नेत्रविक्रम चन्द नेतृत्वको विप्लब समूहसँग अनौपचारिक छलफल चलिरहेको तर वार्ताको वातावरण तयार भइनसकेको पाण्डेले बताउनुभयो । बाँकी २ वटा समूह अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विराटनगरमा बिहीबार र जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) सँग बुधबार सप्तरीको राजबिराजमा हतियार बुझेर वार्ताको वातावरण तयार भएको उहाँले बताउनुभयो ।

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्