ए डिभिजन लिग एनआरटी अझै जितबिहीन

- रेडियो कान्तिपुर, ललितपुर

    मंसिर २७, २०७५

    पल्सर शहिद स्मारक ए डिभिजन लिग फुटबलका आठौँ चरण सकिँदा न्यूरोड टीम एनआरटी अझै जितबिहीन छ । त्यस्तै विभागीय एपीएफको प्रदर्शन पनि ओरालो लाग्ने क्रममा हुँदा एक खेल मात्र गुमाएको सीएमजी संकटा तालिकामा २१ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

    एक खेल कम खेलेको सिग्नेचर मनाङ मर्स्याङदी शीर्ष स्थानमा कायमै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा संकटाले हिमालयन शेर्पालाई २–० गोलले हरायो ।

    संकटाले दुबै गोल पहिलो हाफमा गर्‍यो । संकटाका सेड्रिक अवा र दीपक आले मगरले गोल गरे । हारपछि पनि शेर्पा छैंटौं स्थानमा छ । 

    सोही मैदानमा भएको अर्को खेलमा सरस्वती युथ क्लबले एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्‍यो । लिगमा कमजोर टोलीको रुपमा रहेको एनआरटी तालिकाको पुछारमा छ । सरस्वतीका लागि दोस्रो हाफमा भिक्टोर एमोवीले निर्णायक गोल गरे ।

    जितसँगै सरस्वती ९ अंकमा नवौं स्थानमा छ । 

    आजै गृह मैदान हल्चोकमा भएको खेलमा एपीएफ, जावलाखेल युथ क्लबसँग १–० ले स्तब्ध भयो । दोस्रो हाफमा जावलाखेलका अफिज लावलको गोलमा तालिकामा ३ अंक जोड्न सफल भएको छ ।

    जावलाखेल दशौँ स्थानमा छ । विभागीए एपीएफ आठौँ स्थानमा छ । लिगमा भोलि विभागीय पुलिसले एनआईबीएल फ्रेण्ड्ससँग प्रतिस्पर्धा गर्दा शीर्ष स्थानको मनाङले विभागीय त्रिभुवन आर्मीको सामना गर्नेछ ।

    दुबै खेल एन्फा मैदानमा हुनेछ । 

     

    प्रकाशित:मंसिर २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्