पार्टी विधानलाई लिएर कांग्रेसभित्र किचलो

- प्रिन्स गौतम, काठमाडौं
  • महासमिति बैठक लम्बिने आँकलन

पुस २, २०७५

- महासमिति बैठकपछि नेपाली कांग्रेस भित्रको आन्तरिक एकता थप मजवुद हुने अपेक्षा गरिएपनि विधान मस्यौदालाई लिएर झ्न विवाद चर्किएको छ । विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने संस्थापन इतर पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि कांग्रेस भित्रको विवाद चर्कदै गएको हो ।

विधानमा देखिएको उल्झनको समाधानका लागि विहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठक समेत विना निष्कर्ष टुंगिएपछि पार्टीको आन्तरिक किचलो साम्य हुने संभावना क्षीण बन्दै गएको हो । 

साँझ बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पनि प्रभावित भएपछि विधानमाथिको छलफल लम्बिने भएको छ । केन्द्रीय समिति बैठकबाट विधान नआएसम्म महासमिति बैठकमा छलफल गर्नुको कुनै तुक नहुने भन्दै सहभागीले छलफलमा भाग नलिने अडान लिएका थिए ।

बन्द सत्रमा गरिने छलफल भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । पूर्वनिर्धारित तालिका अनुसार भोलि महासमिति बैठकको अन्तिम दिन हो । तर, विधानमाथिको छलफल शुरु नै नभएकाले बैठक केही दिन लम्बिने आँकलन गरिएको छ ।

सिंहदरबारस्थित पार्टी प्यालेसमा स्थान अभाव भए पार्टी केन्द्रीय कार्यालयमै भएपनि छलफल गरेर महासमिति सक्ने योजना कांग्रेस नेतृत्वको छ ।

पदाधिकारी र केन्द्रीय समितिको संख्या लगायतका विषयमा देखिएको समस्या भोलि बिहान बस्ने केन्द्रीय समिति बैठकले हल गर्ने प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ । नेता अर्जुननरसिंह केसीले भने पदाधिकारी निर्वाचित हुनुपर्ने र सभापतिले पदाधिकारी मनोनित गर्न नपाउने ब्यवस्था विधानमा उल्लेख गर्नुपर्ने बताउनुभयो । 

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा केन्द्रीय समितिमा सहमति नजुटेपछि महासमिति बैठकमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आय–व्ययसम्बन्धि प्रतिवेदनमाथि छलफल चलाइएको थियो । 

 

प्रकाशित:पुस २, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्