मिस पूर्वाञ्चलमा १४ युवतीबीच भिडन्त हुँदै

- प्रदीप मेन्याङ्बो, सुनसरी

    पुस ३, २०७५

    मिस नेपाल पछि पूर्वको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चलको नवौं संस्करण सुरु भएको छ । अनलाइन फर्मबाट सम्पर्कमा आएका युवतीहरुको अडिसनबाट मिस पूर्वाञ्चल लागि १४ जना युवतीहरु छनोट गरिएको छ ।

    अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिसंगै यामाहाको स्कूटी र हङ्कङ् भ्रमणको अवसर पाउने आयोजकले जनाएको छ । फस्ट रनरअपलाई नगद १ लाख रुपैयाँ र सेकेण्ड रनरअपलाई नगद पचास हजार रुपैयाँको पुरस्कार दिइने छ ।

    मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमिडिया, मिस इन्टलेक्चुअल, फेसअफ डिभाइन, भ्युअर्स  च्वाइस  लगायतका विभिन्न ८ वटा विद्याको टाइटल विजेतालाई नगद जनही १५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको आयोजक सिल्भर इन्टरटेन्टमेन्टले जनाएको छ ।

    अडिसनबाट छानिएका १४ प्रतियोगीलाई सौन्दर्यकला, व्यक्तित्व विकास, कलात्मक फेशन मोडलिङ, र्‍याम्प वर्क, लिडरसिप, मोटीभेशन, कला संस्कृति, पर्यटन, इतिहास, क्याटवाक लगायत विषयमा प्रशिक्षण दिन सुरु गरिएको छ । कोरियोग्राफर प्रियारानी लामा रहेकी छिन् ।

    मिस पूर्वान्चलको नवौं संस्करण पौष १४ गते धरान–१५ बाझगरास्थित होटल इजी राइडर्सको मैदानमा हुने भएको छ । प्रतियोगितामा मिस इटहरी तपस्या रनपहेली, मिस उर्लाबारी रुसाली केसी विना अडिसन प्रवेश पाएका छन् ।

    अन्य प्रतियोगिहरुमा धनकुटा हिलेका प्रजिता तामाङ, मोरङ उर्लाबारीका सविना पोदार, सुनसरी तरहराकी तुलाशा पोख्रेल, झापा भद्रपुरकी पूजा श्रेष्ठ, संखुवासभाकी सोनेता दाहाल, धरानकी आकृति आचार्य, एजिना राई, अनिला क्षेत्री, सुचित्रा कार्की, मोरङको विराटनगरबाट मोनिका रेग्मी, धनकुटाबाट स्वस्तिका बिसुंखे, विर्तामोडबाट सलिना राजबंशी सहभागी छन् ।

    इभेन्ट म्यानेजर शौरभ श्रेष्ठका अनुसार अनलाइन फर्म मार्फत कक्षा १२ भन्दा माथिका पूर्वका सय जनाले आवेदन दिएका थिए । सहभागीहरुलाई सामाजिक र पारिवारिक सम्बन्ध प्रति सचेतना जगाउन रक्तदान, ट्राफिक सचेतना, पर्यटन, सम्बन्धी जानकारी दिइने छ ।

    बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालिको प्रस्तुति र नेपाल आइस वियरको मुख्य प्रायोजन रहेको मिस पूर्वाञ्चलमा यसअघि सविना सुब्बा, प्रतिभा श्रेष्ठ, अस्मिता गुरुङ, नेहा बजाज, नेमिता आङबुहाङ, प्रियङका श्रेष्ठ, कृतिका गिरी र रुबी लिम्बुले जितेका थिए ।

    प्रकाशित:पुस ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्