सल्यानमा स्थानीय तहका कर्मचारी आन्दोलित

- बिप्लब महर्जन , काठमाडौं

    पुस ३, २०७५

    सल्यानका १० स्थानीय तहमा कार्यरत २ सय ५० बढी कर्मचारी आन्दोलित भएका छन् । कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको भन्दै त्यसको विरोधमा स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    उनीहरुले हातमा कालो पट्टी बाँधेर काम ठप्प पारेका छन् । यही पौष १० गतेसम्म पनि माग पूरा नभए त्यसपछि सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति बनाएर देशभर आन्दोलन सुरु गर्ने क्रममा जिल्लामा स्थानीय तहका कर्मचारीले आन्दोलन गरेका हुन् ।  

    स्थानीय तहमा कार्यरत कर्मचारीहरु आवद्ध स्थानीय तह कर्मचारी संघ, कर्मचारी युनियनको संयुक्त आयोजनामा मंगलबार सल्यानमा भएको कार्यक्रममा निजामती कर्मचारी र आफूलाई दिने सेवा, सुबिधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरुले बताएका छन् ।  

    स्थानीय तह कर्मचारी संघ सल्यानका अध्यक्ष जीवराज केसीले सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामती कर्मचारीलाई मात्रै प्रोत्साहन गर्ने काम गरेको बताउनुभयो ।

    ‘द्वन्द्वको बेला हामी स्थानीय निकायका कर्मचारी सरकारको प्रतिनिधिको रुपमा स्थानीय स्तरमा खटिएर काम गर्‍यौँ, तर हाल आएर समायोजन गर्दा उक्त कामको उचित मूल्यांकन हुन सकेन’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी आन्दोलनमा उत्रन बाध्य भयौँ ।’

    स्थानीय तह कर्मचारी युनियनका जिल्ला अध्यक्ष चन्द्रप्रसाद शर्माले निजामती कर्मचारीलाई दिइदै आएको सेवा, सुबिधाबाट आफूहरुलाई वञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएको आरोप लगाउनुभयो ।

    त्यसको विरोधमा जिल्लाका सबै स्थानीय तहमा आन्दोलन चर्काइएको उहाँले बताउनुभयो । विभिन्न समयमा नियुक्त भएका कर्मचारीलाई काम र योगदानका आधारमा मूल्यांकन हुनुपर्ने उनीहरुले माग गरेका छन् ।  

    प्रकाशित:पुस ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्