शेयर लगानीकर्तालाई संयमित हुन बोर्डको आग्रह

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस ३, २०७५

    नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई संयमित हुन आग्रह गरेको छ । पुँजी बजार सुधारको माग राख्दै केही शेयर लगानीकर्ताहरु आन्दोलित बनिरहँदा नेपाल धितोपत्र बोर्डले आज एक विज्ञप्ति जारी गर्दै संयमित हुन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

    लगानीकर्ताहरुले पुँजी बजार सम्बन्धी राखेका माग तथा दोश्रो बजार कारोबार रोक्ने सम्बन्धी भएका अवाञ्छित स्थिति सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै बोर्डले संयमित हुन आग्रह गरेको हो । 

    बोर्डले, मुद्रा तथा पुँजी बजारमा देखिएका समस्या तथा वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाव पेश गर्न सरकारद्वारा गठित समितिले चाँडै नै आफ्नो प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै धैर्य गर्न भनेको हो ।

    समितिले विभिन्न सरोकारवालाहरुसंग छलफल गरी दिने सुझावको कार्यान्वयनबाट बजारमा थप विकास तथा स्थायित्व अभिवृद्धि हुने र लगानीकर्ताका माग समेत सम्बोधन हुर्नेमा विश्वस्त रहेको बोर्डले जनाएको छ ।

    बजारलाई स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउन सहयोगका लागि बोर्डले सम्बन्धित सबै पक्षलाई आग्रह पनि गरेको छ ।

    प्रकाशित:पुस ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्