पोखरामा साहित्य महोत्सव

- भीम घिमिरे, पोखरा

    पुस ७, २०७५

    पोखराको फेवाताल किनारमा आजबाट चारदिन आईएमई नेपाल साहित्य महोत्सव सुरु हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुने सातौं संस्करणको महोत्सवको पहिलो दिन उद्घाटनसहित पाँच सेसनमा कार्यक्रम हुनेछन् । 

    अन्यायमा महिला विषयमा पूर्वपधानन्याधीश सुशीला कार्कीको मन्तव्यबाट विभिन्न विषयका प्रस्तुती र बहसको औपचारिक कार्यक्र सुरु हुनेछ ।  क्यान्सर जितेकी बलिउड नायिका मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ को लोकार्पणसँगै सो किताबमाथि नायक राजेश हमालले छलफल चलाउँदैछन् ।

    साहित्यकार इन्द्रबहादुर राइको सम्झनामा ‘अझै रमिता छ...’ शीर्षकमा मञ्जुश्री थापा र कृष्ण धरावासीसँग केदार शर्माले अन्तरक्रिया गर्नेछन् । ‘पागल बस्ती’ पछिको पोखरेली आख्यानमा कुमारी लामाले सरुभक्त, गनेस पौडेल र तीर्थ गुरुङसँग भलाकुसारी गर्दैछन् ।

    आगामी मंगलवारसम्म चल्ने महोत्सवका लागि उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी लेखक र विभिन्न क्षेत्रका व्यक्तित्व पोखरामा भेला भएका छन् । तीन दर्जन सेसनमा छलफल चल्ने महोत्सवमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिट महोत्सवको पहिलो दिन नै प्रस्तुत हुनेछिन् । ‘सम्पादक र स्तम्भकार’ शीर्षकमा कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्ले र लेखक खगेन्द्र संग्रौला बीच समेत अन्तक्रिया हुनेछ । 

    सन् २०११ मा झम्सिखेलबाट सुरु भएको फेस्टिभल सुरुवाती चार संस्करण काठमाडौंमा भएका थिए । भूकम्पको घटनापछि पोखरामा आयोजना हुन थालेको हो । महोत्सवलाई पोखरेली संस्था र्‍यान्डम रिडर्स सोसाइटीले आयोजनामा सघाएको छ । फेस्टिभलमा अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रेमिट्यान्सलगायत विषयमा समेत छलफल हुनेछ । 

     

    प्रकाशित:पुस ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्