मुलुकको उत्पादन पद्धतिसँग शिक्षा प्रणाली जोडिनु पर्छ : राष्ट्रपति भण्डारी

- देवनारायण साह, मोरङ
  • मुलुकमा उद्योग, कृषि लगायतको उत्पादकत्व कमजोर हुँदा व्यापार घाटा चुलियो
उहाँले भन्नुभयो, ‘विश्वविद्यालयहरुले मुलुकको उत्पादन सम्भावना भएका क्षेत्रसँग सम्बन्धित विशेषज्ञ उत्पादन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन सक्छ ।’

पुस १९, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको उत्पादन पद्धतिसँग शिक्षा प्रणालीलाई जोडिनुपर्ने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत महोत्वमा बिहीबार विराटनगरमा राष्ट्रपति भण्डारीले मुलुक सुहाउँदो शिक्षा प्रणाली नभएकोले व्यापार घाटा चुलिएको बताउनुभयो ।

‘मुलुकको उत्पादन क्षेत्रसँग जोडिएको प्रतिस्पर्धात्मक शिक्षा प्रणाली नभएर गुणस्तरीय शिक्षाका लागि बालबालिकादेखि युवासम्म अध्ययनका लागि विदेश पलायन भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘विश्वविद्यालयहरुले मुलुकको उत्पादन सम्भावना भएका क्षेत्रसँग सम्बन्धित विशेषज्ञ उत्पादन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन सक्छ ।’

मुलुकमा उद्योग, कृषि लगायतको उत्पादकत्व कमजोर हुँदा व्यापार घाटा चुलिएको उहाँको भनाई थियो । ‘एकातिर लाखौं युवा रोजगारीका लागि ऋण लिएर विदेश पलायन भइरहेका छन् भने अर्कोतिर मुलुकमा दक्ष जनशक्तिको अभाव छ,’ उहाँले भन्नुभयो, ‘यस यथार्थलाई स्वीकार गर्दै पूर्वाञ्चल विश्वविद्यालयले गुणस्तरीय शैक्षिक उत्पादनमा जोड दिनुपर्दछ ।’

विश्वविद्यालयलाई ज्ञान, विज्ञान, अध्ययन, अनुसन्धान, संस्कार, संस्कृति, चिन्तन र मननको अनुपम केन्द्र बनाउन सबैको भूमिका अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

‘विश्वविद्यालयको मापदण्ड अनुसार नै आजको युगको आवश्यकतालाई परिपूर्ति गर्नेगरी सबै विश्वविद्यालयले अध्ययन, अध्यापन पद्धति अघि बढाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘गुणस्तरीय पठनपाठनका साथै प्रतिस्पर्धी अध्ययन अध्यापनका लागि शैक्षिक केन्द्रहरुलाई साधन स्रोत र पूर्वाधारयुक्त बनाउन सम्बन्धित निकायले जिम्मेवारी निर्वाह गर्न सक्नु पर्छ ।’ 

मुलुकमा पूर्व क्षेत्र अपार प्राकृतिक स्रोतले सम्पन्न, अन्नको भण्डार, चिया, अलैंची, अदुवा, दूध लगायतको उत्पादनमा अग्रणी रहेकोले यी क्षेत्रहरुमा औद्योगीकरण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने पूर्वाञ्चल विश्वविद्यालयको दायित्व रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

‘प्रकृतिको प्रदान स्वरुप यहाँ प्राप्त प्राकृतिक सौन्दर्यता बारे शैक्षिक अध्ययन र छलफलको विषय बनाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘प्रकृतिक स्रोत साधनको उचित संरक्षण गरेर आम नागरिकको जीवनमा ठोस परिवर्तन ल्याउन सक्ने शिक्षा विश्वविद्यालयले प्रदान गर्न सक्नु पर्छ ।’

मुलुकमा बलियो र स्थित सरकार भएको अवस्थामा दिगो शान्ति सहित आर्थिक विकासको फल प्राप्त गर्ने नेपालीको चाहना पूरा गर्ने अवसर गुम्न नदिन उहाँले सबैलाई आग्रह गर्नुभयो । 

विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय सामान्य ढंगले चलेर अबको आवश्यकता पूर्ति हुन नसक्ने बताउनुभयो । ‘आर्थिक, सामाजिक, मनोवैज्ञानिक रुपमा बहुआयामिक समृद्धिका लागि गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘शिक्षाले सीप, सीपले श्रम र सश्रले समृद्धि ल्याउनु पर्छ ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । 

पूर्वाञ्चल विश्वविद्यालयका लागि योगदान पु¥याउने पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी, पूर्वमेयर अशोक कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. ध्रुवनारायणलाल दासलाई मरणोपरान्त तथा पूर्वउपकुलपति तुलबहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्ण पोखरेललाई राष्ट्रपतिद्वारा सम्मान गरिएको छ । 

२०५२ साल पुस १९ गते स्थापना भएको उक्त विश्वविद्यालय अन्तर्गत २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । विश्विद्यालयमा ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

९ वटा आंगिक र १ सय २१ वटा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको उपकुलपति दासले बताउनुभयो । कार्यक्रममा पूर्वाञ्चल विश्व विधालयको तर्फबाट राष्ट्रपति भण्डारीलाई अभिनन्दन समेत गरिएको थियो ।

यसैबीच, राष्ट्रपति भण्डारीले स्नातक तह उतिर्ण गरेको महेन्द्र मोरङ बहुमुखी आदर्श क्याम्पस विराटनगरले एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको छ । महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले उनलाई अभिनन्दन पत्र हस्तान्तरण गरेको थियो । 

प्रकाशित:पुस १९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्