सर्वोच्चद्वारा टिकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई रिहा गर्न अस्वीकार

- प्रिन्स गौतम, काठमाडौं

    पुस २३, २०७५

    - सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ । आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने कैलाली जिल्ला अदालतको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजीको माग गर्दै चौधरी सर्वोच्च पुगेका थिए ।

    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई सदर गर्दै उनलाई रिहा गर्न अस्विकार गरेको हो । फैसलामा भनिएको छ, ‘चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यामान रहेको भन्ने २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश मिलेकै देखिएकाले कानुन बमोजिम गर्नु ।’ 

    ५ दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो । चौधरीमाथि जाहेरीकर्ताले किटानी पोल गरेको र सह–अभियुक्तहरुको बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका मिसिलमा उल्लेख छ ।

    कैलाली १ बाट राष्ट्रिय जनता पार्टी राजपा नेपालबाट प्रत्यक्षतर्फ निर्वाचित चौधरीलाई जिल्ला अदालतले गत फागुन १४ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध चौधरी उच्च अदालत हुँदै गत असार ५ गते सर्वोच्च पुगेका थिए । 

    चौधरीलाई गत विहीबार मात्र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सपथ गराउनुभएको हो । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रहरी र आन्दोलनकारीविचको झडपमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको हत्या भएको थियो ।

    घटनाको मुख्य दोषी चौधरीलाई देखाइएपछि उनी फरार थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका चौधरी वारेसमार्फत प्रतिनिधिसभा चुनावमा विजय भएका थिए । चौधरी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन् । 

    प्रकाशित:पुस २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्