नेकपाको कार्यदलका सदस्य कामप्रति उदासिन

काठमाडौं

    पुस २७, २०७५

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको संगठनात्मक एकता र पार्टी एकीकरणका बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलका सदस्यले आफ्नो कामप्रति उदासीनता देखाएका छन् । यही पुष मसान्तभित्र प्रतिवेदन बुझाउने भनिएपनि नेताहरु अन्य सार्वजनिक कार्यक्रममा व्यस्त भएका हुन् । कार्यदल सदस्यले आफ्नो जिम्मेवारी भन्दा सार्वजनिक कार्यक्रमलाई बढी प्राथमिकता दिएको नेकपाकै नेताहरुले बताएका छन् ।

    यद्धपी कार्यदल सदस्य वेदुराम भुषाल गृहकार्य भइरहेकाले केही दिनभित्रमा काम सक्ने बताउनुहुन्छ । उहाँले कार्यदल भित्र आन्तरिक छलफल भइरहेकाले समयसीमा भित्रै काम सक्ने बताउनुभयो । कार्यदलकै अर्का सदस्य योगेश भट्टराईले नेताहरुको कार्यव्यस्तताले गर्दा केही दिनदेखि बैठक बस्न नसकेको र माघ २ गतेपछि बैठक बसेर बाँकी काम सक्ने बताउनुभयो । उहाँले माघ पहिलो साताभित्रमा कार्यदलले प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिनुभयो । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकले तल्लो तहसम्मको पार्टी एकता गर्ने कार्यविधी बनाउन ९ सदस्यीय कार्यदल बनाएको थियो ।

    कार्यदलले दिएको प्रतिवेदन स्थायी समितिले अनुमोदन गरेपछि त्यसैका आधारमा एकता प्रक्रिया टुङ्ग्याउने नेकपाले जनाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति मात्र गठन भएको छ । पोलिटव्युरो र केन्द्रीय विभागहरु गठन भएको छैन भने नेताहरुलाई जिम्मेवारी समेत दिइएको छैन् । यस्तै जिल्ला तहभन्दा तल्लो तहका इकाइको एकता हुन बाँकी छ । 

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्