नागरिकता पाउँदा घाम लाग्यो

- आश गुरुङ, लमजुङ

    पुस २७, २०७५

    लमजुङको मर्स्याङदी गाउँपालिका ६, ठूलीबेंसी गाउँकी नन्दकला अधिकारी थापा पुस १० गतेबाट ७६ वर्ष पूरा भएर ७७ वर्ष लागिन् । बुढ्यौली उमेरमा पनि घाँसपात गर्नेदेखि घरायसी काम गर्ने जाँगर उनमा छ । एउटै समस्या उनलाई गाडी चढ्न मन लाग्दैन ।

    दुई वर्षयता आँगन नजिकै बाटो भएर बेंसीसहरसम्म मोटर चल्छ । मोटर चढ्ने भनेपछि उनलाई डर र रिंगाटा दुबै लाग्छ । नागरिकता बनाउन उनका परिवारले धेरै प्रयास गरे । ‘बेंसीसहर जाउँ भन्दा जान्न भन्नुहुन्छ । गाडी लाग्छ, डराउँछ भन्नुहुन्छ । २ देखि साँढे २ घण्टाको बाटो हो । तै पनि आमा मान्नुभएन’ साइँलो छोरा मोहन थापाले भने, ‘माथि बाहुनडाँडामा टोली आउँदा पनि मान्नु भएन । भत्ताका लागि पनि नागरिकता बनाउनुपर्छ भन्दा उल्टै ‘मलाई पाल्न सक्दैनस् ?’ भन्नुभयो आमाले । यतिकै बसियो । नागरिकता बनेन ।’

    नागरिकता नलिने भन्दै बसेका नन्दकलाले एकबिहानै आफ्नो नागरिकता ल्याएको छु भन्दै आएका मान्छे देखे । उनी दंग परे । जुठेल्नमा भाँडा धुँदै गरेकी उनी घरभित्र पसे । पति टोपबहादुर थापा, साइलो छोरा मोहन थापा लगायत जम्मा भए । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, अनुसन्धान अधिकृत सुरेश थापासहितले लगेको नागरिकताको अभिलेख राख्ने ढड्डा खोलेर नन्दकलालाई सहीछाप गर्न लगाए ।

    अनि प्रमुख जिल्ला अधिकारीकै सहीछापको नागरिकता दिए । ‘आजसम्म घाम लागेको थिए । मैले नागरिकता पाएर हो कि क्या हो, घाम लाग्यो त’ हँसिलो अनुहारमा उनले भनिन्, ‘नागरिकता पाएपछि अब भत्ता पाउने होला नि ।’ राम्रो मान्छे आएर नागरिकता दिएपछि घाम लागेको उनले बताइन् । नागरिकता पाएपछि उनले ओल्टाइपल्टाई एकछिन एकोहोरो हेरिरहिन् र राखिन् । 

    प्रशासन कार्यालयले नन्दकला अधिकारी थापालाई बिहीबार १९९९ पुस १० गतेको जन्ममिति कायम गरेर नागरिकता प्रदान गरेको छ । गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडी र संविधान सभा सदस्य जमीन्द्रमान घलेले बृद्धा आमाले हालसम्म नागरिकता नभएको बताएपछि प्रजिअ ढकालले यसबारे चासो लिएको हो ।

    स्थानीय अगुवा बाहुनडाँडाका चित्रबहादुर घिमिरे र साइँलो छोरा मोहनको सहयोगमा घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ ढकालले बताउनुभयो । नन्दकलालाई नागरिकता दिलाउन उनका पति टोपबहादुर थापाले सनाखत गरेका छन् ।

    ‘नागरिकता नहुँदा ६ वर्ष भत्ता छुट्यो । नागरिकता पाएपछि अब भत्ता पाइने होला नि’ नन्दकला पति टोपबहादुरले भने । नागरिकता दिलाउन कागजपत्र बुधबार नै ठिक्क बनाइएको थियो । यसका लागि घिमिरे र साइँलो छोरा थापा बेंसीसहरमा खटिएका थिए ।

    प्रजिअ लगायत टोलीलाई नन्दकला आफैंले पकाएर दिइन् । ‘म आउन नसक्दा क्या दु:ख पाउनुभो । मीठो मसिनो छैन । राम्ररी खानुहोला । राम्रो काम गर्नुहोला’ प्रजिअ टोलीलाई उनले भनिन् । 

    प्रकाशित:पुस २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्