तराईमा आलु उखेल्न सुरु, भाउ घट्यो

- देवनारायण साह, मोरङ
  • यस वर्ष मौसम अनुकूल भएपछि आलुको उत्पादनमा वृद्धि
जहदा गाउँपालिका अध्यक्ष कैलास मण्डलले सीमावर्ती ग्रामीण क्षेत्र रहेको आफ्नो गाउँपालिकामा खेती बाहेकको सम्भावना नरहेकोले कृषिमा नै नम्बर १ बन्ने गरी काम अघि बढाएको बताउनुभयो ।

पुस २७, २०७५

तराईमा आलु उखेल्न सुरु भएको छ । यस वर्ष मौसम अनुकूल भएकोले मोरङमा आलुको उत्पादनमा पनि वृद्धि भएको छ । तराईमा आलु उखेल्न सुरु भएसँगै बजारमा भाउ घटेको छ । आलुको भाउ घटेपछि उपभोक्ता सस्तोमा खान पाउन थालेका छन् ।

जहदा गाउँपालिका २ मझारेका कृषक रामऔतार कामैतले आलु उखेल्न थालेका छन् । उनले १५ कठ्ठामा आलु खेती गरेका हुन् । ‘यस वर्ष आलु खेती सप्रेको छ,’ उनले भने, ‘यस वर्ष सितलहर नचलेकोले आलु खेती राम्रो भएको हो ।’ कामैतले लगाएको आलु प्रतिकठ्ठा २५ मनभन्दा बढी फलेको छ ।

आलु सप्रेर उत्पादन बढेको तर बजारमा मूल्य घटेको उनले बताए । ‘गत वर्ष शीतलहरले आलुमा डढुवा लागेपछि राम्रो उत्पादन नहुँदा भाउ थियो,’ उनले भने, ‘यस वर्ष राम्रो उत्पादन हुँदा भाउ नै नपाइने भयो ।’ गत वर्ष प्रति कठ्ठा १० मनसम्म मात्रै फलेको र विषादी पनि निकै छर्किनु परेको तर यस वर्ष केही नगरेरै मौसम अनुकूल भएर उत्पादन बढेको उनले सुनाए । उनले पोखराज ६० प्रजातीको आलु लगाएको बताए । 

स्थानीय सियानन्द कामतले पनि लगाएको आलु उखेल्न सुरु गरेको बताए । ‘१२ कठ्ठामा लगाएको अहिले उखेल्दै बिक्री गर्न थालेको छु,’ उनले भने, ‘अहिले बजारमा आलुको मूल्य घटेर प्रति किलो १५ रुपैयाँमा मात्रै बिक्री भइरहेको छ ।’ 

कामतले स्थानीय लक्ष्मिनीयामा लाग्ने साप्ताहिक हटियामा आलु उखेलेर बिक्री गर्दै आएको बताए । केही दिन अघिसम्म आलु प्रति किलो २५/३० रुपैयाँमा बिक्री भइरहेको थियो तर अहिले भाउ घटेको उनले बताए । ‘सनपाट काटेर आलु खेती गरेका थियौं,’ उनले भने, ‘अब आलु खेतमा तरकारी, प्याज लगायतको बाली लगाउँछौं ।’ भाउ घटेर पनि आलु खेतीले यस वर्ष राम्रो आम्दानी हुने भएको उनको भनाई थियो । 

जहदा गाउँपालिकाका कृषि संयोजक रामदेव सिंहले गाउँपालिकाले आलु खेती बिस्तारका लागि वडा ५ मा आलु पकेट क्षेत्र घोषणा गरेर कृषकहरुलाई खेती गर्न लगाएको बताए । ‘आलु पकेट क्षेत्र घोषणासँगै १५ विघामा आलु खेती यस वर्ष वृद्धि भयो,’ उनले भने, ‘आलु अहिले उखेल्न थालेको र यस वर्ष राम्रो उत्पादन भएको छ ।’

सिंहले यसअघि कृषकहरुले परम्परागत तरिकाले आलु खेती गर्दै आउँदा अधिकतम प्रति कठ्ठा १०/१५ मन मात्रै उत्पादन भइरहेको बताए । पकेट क्षेत्र घोषणा गरेर कृषकहरुलाई तालिम दिएर आलु खेती बिस्तार गरेपछि प्रति कठ्ठा २० मनदेखि ३० मन आलु यस वर्ष फलेको उनले बताए । पकेट क्षेत्र घोषणाले कृषकहरु वैज्ञानिक तरिकाले व्यवसायीक आलु खेती गर्न सुरु गरेको उनको भनाई छ । 

आलु पकेट क्षेत्रका अध्यक्ष रजनीकान्त कामतले गाउँपालिकाले आलु खेती बिस्तारका लागि पकेट क्षेत्र कार्यक्रम ल्याएर सुबिधाहरु दिएको बताए । ‘गाउँपालिकाले आलु खेतीका लागि पकेट क्षेत्रका कृषकलाई ३ लाख अनुदान दिएको थियो,’ उनले भने, ‘यसका साथै पहिलो पुस्ताको टीपीएस प्रजातीको आलुको बीउ समेत गाउँपालिकाले उपलब्ध गराएको थियो ।’ 

पकेट क्षेत्रमा आबद्ध भएपछि परम्परागत आलु खेती छोडेर वैज्ञानिक तरिकाले व्यवसायीक खेती यस वर्षबाट सुरु गरेको कामतले बताए । ‘उन्नत प्रजातीको बीउ रोपेर व्यवसायीक आलु खेतीले सुरु गरेपछि गत विगतका वर्षभन्दा उत्पादन बढ्यो,’ उनले भने, ‘यस वर्ष टीपीएस प्रजातीको आलु लगाउनेहरुको प्रति कठ्ठा ३० मनको दरले आलु उत्पादन भयो ।’

जहदा गाउँपालिका अध्यक्ष कैलास मण्डलले सीमावर्ती ग्रामीण क्षेत्र रहेको आफ्नो गाउँपालिकामा खेती बाहेकको सम्भावना नरहेकोले कृषिमा नै नम्बर १ बन्ने गरी काम अघि बढाएको बताउनुभयो ।

‘चालू आर्थिक वर्षमा कृषिमा १ करोड २९ लाख बजेट विनियोजन गरेर वैज्ञानिक तरिकाले व्यवसायीक खेतीका साथै अग्र्यानिक उत्पादनतर्फ प्रोत्साहन गर्ने नीति लिएका छौं,’ उहाँले भन्नुभयो, ‘किसानहरुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीकरण गर्नका लागि समेत बजेटको व्यवस्थापन गरेका छौं ।’ 

आलुमा आत्मनिर्भर गाउँपालिका बनाउनका लागि पकेट क्षेत्र घोषणा गरेर खेती बिस्तार गरेको उहाँले बताउनुभयो ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायलका प्रवक्ता मनोजकुमार यादवले प्रदेशभरी ९ लाख २७ हजार ४ सय १९ हेक्टर खेतीयोग्य जग्गामध्ये ६३ हजार ९३ हेक्टरमा आलु खेती भइरहेको बताउनुभयो । उहाँले यस प्रदेशमा प्रति हेक्टर १३ दशमलव ९४ मेट्रिकटन आलु उत्पादन भइरहेको बताउनुभयो ।

प्रकाशित:पुस २७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्