उखु क्रसिङ थप केही दिन ढिला हुने

- रवीन्द्र उप्रेती, महोत्तरी
    ‘सबै मजदुर संक्रान्ति मनाउन गएका छन्’ महतोले भन्नुभयो, ‘मजदुर अभावमा आवश्यक कच्चा पदार्थ नै उपलब्ध नहुने भएपछि तत्काल क्रसिङ सुरु गर्ने छैन ।’

    पुस २८, २०७५

    लामो समयदेखि विवादमा रहेको उखुको मूल्यमा किसान प्रतिनिधि र उद्योगीबीच सहमति भएपनि अपेक्षा विपरीत उखु क्रसिङ अझै केही दिन पछि धकेलिने भएको छ । महोत्तरीको बर्दिवासमा गत बुधबार उद्योगपति र उखु उत्पादक महासंघबीच भएको तीन बुँदे सम्झौतामा पहिलो बुँदामै यथाशीघ्र उखु क्रसिङ सुरु गर्ने सम्झौता भएको थियो ।

    बैठकमा प्रदेश २ स्थित ८ चिनी मिल संचालक तथा ८ वटै जिल्लाका उखु उत्पादक कृषक संघका अध्यक्ष लगायतका प्रतिनिधिको सहभागितामा सो सम्झौता भएको थियो । किसानको नेतृत्व उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गरेका थिए ।

    बैठकमा उखु खरिद गरेको ३० देखि ४५ दिनभित्र शतप्रतिशत भुक्तानी दिने सहमतिले किसान हर्षित भएका थिए । यता चिनी नबिके सरकारले ‘सफ्ट लोन’ को ब्यवस्था गर्नु पर्ने उधोगीको माग थियो ।

    त्यो पनि नभए नेशनल ट्रेडिङ जस्ता संस्था मार्फत चिनी खरिद गरी ६० प्रतिशत रकम सोझै किसानको खातामा र बाँकी रकम मील संचालनका लागि उपलब्ध गराउनु पर्ने दुबै मागप्रति किसान प्रतिनिधिले सहमति दिने जनाएपछि उद्योगपति समेत सन्तुष्ट भएर सहमतिमा हस्ताक्षर गरेका थिए । 

    सम्झौता लगत्तै उद्योगपति कारखाना संचालनको तयारीमा जुटे । खरिद केन्द्र ब्यवस्थापन र काँटा जडानका लागि कर्मचारी परिचालन गरियो । उखु उत्पादक कृषक संघ महोत्तरीका अनुसार सहमति लगतै किसानलाई उखु कटान गर्ने अनुमतिका लागि चलान पूर्जा वितरण सुरु भयो ।

    रामनगरस्थित एभरेष्ट चिनी मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसियाले उखु प्राप्त हुनासाथ क्रसिङ सुरु गर्न मिल तयारी अवस्थामा रहेको बताउनुभयो । क्रसिङ सुरु गर्न न्यूनतम २५ हजार क्विन्टल उखु आवश्यक पर्ने उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘कारखानाको यार्डमा आवश्यक उखु प्राप्त हुनासाथ उत्पादन सुरु गर्न हामी तयारी अवस्थामा छौ ।’ 

    उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश महत्तोले क्रसिङका लागि आवश्यक उखु तत्काल उपलब्ध हुने सम्भावना न्यून रहेको बताउनुभयो । बीचमा माघे संक्रान्ति परेकाले मजदुर अभावका कारण कारखानमा उखु आपूर्ति केही ढिला हुने उहाँले बताउनुभयो ।

    ‘सबै मजदुर संक्रान्ति मनाउन गएका छन्’ महतोले भन्नुभयो, ‘मजदुर अभावमा आवश्यक कच्चा पदार्थ नै उपलब्ध नहुने भएपछि तत्काल क्रसिङ सुरु गर्ने छैन ।’ 

    उखु कटान गरी तयार पारेर कारखाना वा खरिद केन्द्रसम्म पुर्‍याउन मजदुर नभई हुँदैन । केहीले मजदुर नराखी आफैले तयार पार्छन । तर उनीहरुले तयार पारेको उखुले मिलको आवश्यकता पूरा हुँदैन । किसानले ज्यालादारी वा ठेक्कामा मजदुर लगाई उखु कटान गरी कारखाना तथा काटासम्म पुर्‍याउँछन् ।

    उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष महतोले १० मजदुरलाई ठेक्का दिएका छन् । 

    उखु किसानका अनुसार पर्व मनाएर मजदुर काममा फर्केपछि पनि कारखानाको यार्डसम्म उखु पर्‍याउन थप दुई तीन दिन लाग्ने हुँदा तत्काल क्रसिङको सम्भावना देखिदैन । 

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्