अब सरकार चुप लाग्दैन : मन्त्री पण्डित

- प्रकाश पाठक, काठमाडौं

    पुस २९, २०७५

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समयोजनपछि कार्यक्षेत्र नजाने कर्मचारीलाई तत्काल बिदा दिने चेतावनी दिनुभएको छ । अनलाईन फारममा उल्लेख गरेअनुसार नै कर्मचारीको समायोजन प्रक्रिया सुरु हुने बताउदै मन्त्री पण्डितले खटाएको क्षेत्रमा नगए अब सरकार चुप लागेर नबस्ने बताउनुभयो ।

    रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै मन्त्री पण्डितले स्थानीय तहमा समायोजन हुन चाहाने कर्मचारीका लागि बरिष्ठता, रोजेको स्थान र घरपायक क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था अध्यादेशमै रहेकाले त्यसमा एक ईन्चपनि तलमाथी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कर्मचारीका फरक फरक मागबारे व्यङ्ग्य गर्दै मन्त्री पण्डितले भन्नुभयो, चौरासी व्यञ्जन खाँदा पनि कसैलाई अमिलो पुग्दैन त कसैलाई नुन अनि कसैलाई चर्को हुन्छ । चाहानाले मात्र हुने भए मलाई अहिले मंगल ग्रहमा जान मन लागेको छ, सम्भव छ ?  

    केन्द्र, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजनका लागि अध्यादेश जारी भईसकेको अवस्थामा अधिकांश कर्मचारीले समायोजनमा जाने ईच्छा देखाएको उहाँको भनाई छ ।  केन्द्रका ४५ हजार बाहेक ६० हजार कर्मचारीले अनलाईन फारम भरिसकेको भन्दै उहाँले बाँकी १८ हजार कर्मचारीले यसैसाता भित्र फारम भरिसक्ने बिश्वास व्यक्त गर्नुभयो । 

    सरकारले कायम कर्मचारीमध्ये ४५ हजारलाई केन्द्र, २१ हजारलाई प्रदेश र ५७ हजारलाई स्थानीय तहमा समायोजन गर्ने तयारी गरेको छ । एक तह बढुवा गरी समायोजनको प्रस्ताब रहेकाले कर्मचारीलाई कुनै भेदभाव नहुने पण्डितको भनाई छ । 

    अपुग कर्मचारीलाई भने प्रक्रिया पुर्‍याएर नयाँ दरबन्दी थप्ने गरी मन्त्रालयले गृहकार्य अघि बढाएको उहाँको भनाई थियो । 

    प्रकाशित:पुस २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्