चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित संसदमा प्रस्तुत हुँदै

काठमाडौं

    पुस २९, २०७५

    शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । संशोधन सहित पारित विधेयक समिति सभापति जयपुरी घर्तीले मध्यान्ह १२ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन सहित पेस गर्नु हुने संघीय संसद सचिवालयले जनाएको छ ।

    समितिले तयार बनाएको प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने व्यवस्था समेटिएको छ । सो विधेयकमाथि समितिको निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने फरक मत राखेको थियो । समितिले प्रतिवेदन अनुमोदन गरेसँगै आफ्ना माग सम्वोधन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी इलाम पुगेर १६ औं चरणको अनसन सुरु गर्नुभएको छ । अनशनको पाँचौ दिन जारी रहँदा उहाँको स्वास्थ्य अवस्था भने बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । 

    यसैबीच प्रतिनिधि सभाको आजको बैठकबाट अघिल्लो अधिवेशन मै छलफलमा आएका तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ । राष्ट्रिय सभाबाट आएको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयक तथा प्रतिनिधि सभा मै उत्पन्न भएका निवृत्तिभरण कोष विधेयक र भुक्तानी तथा फस्र्यौट विधेयक पारित गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । तीन वटै विधेयक गत साउनमा संघीय संसद सचिवालयमा दर्ता भएर सैद्धान्तिक छलफल भएपनि संसद अधिवेशन अत्य हुँदा समितिमा दफावार छलफल हुन बाँकी थियो । 

    बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक टेवल गर्ने कार्यसुची छ भने नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयकमाथी सैद्धान्तिक छलफल हुने सहप्रवक्ता अर्यालले बताउनुभयो ।  

    प्रकाशित:पुस २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्