थाईल्याण्डमा नेपालको लगातार दोस्रो जित

काठमाडौं
  • भोली यूएईसँग खेल्ने

पुस २९, २०७५

थाईल्याण्डमा जारी स्मास महिला टी–२० क्रिकेट प्रतियोगीतामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा हिजो चीनलाई १० विकेटले पराजित गरेको नेपालले आफ्नो खेलमा आज मलेसियालाई ६ विकेटले पराजित गर्‍यो । आजको जितले नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनेको छ । 

बैंककस्थित ट्रायथाई क्रिकेट मैदानमा मलेसियाले दिएको ६२ रनको मध्यम लक्ष्य नेपालले २२ बल बाँकी छदै ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा रोमा थापाले नटआउट २० रन बनाईन् भने सीता राना मगरले १६ रनको योगदान गरिन् । ममता कुमारी चौधरीले नटआउट ९ रन बनाउँदा काजल श्रेष्ठ ६ र इन्दु वर्मा ३ रनमा आउट भए । सरिता मगर शुन्य रनमा रन आउट भइन् । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया १९ दशमलब ३ ओभरमा ६१ रनमा अलआउट भएको थियो । नेपालको कसिलो बलिङ सामु कमजोर देखिएको मलेसियाका लागि सियोजिन ईले १२ र युस्रीना याकोपले ११ रन बनाए । उसका अन्य ब्याट्सवुमन्सले दोहोरो स्कोरको अंक छुन सकेनन् ।

सरिता मगरले ४ तथा नेरी थापा, कबिता कुँवर र ईन्दु बर्माले एक एक विकेट लिए । मलेसीयाकी तीन ब्याट्सबुमन्स रन आउट भए । 

१० टोली सहभागी प्रतियोगिताको समुह एमा रहेको नेपालले भोली यूएई र समुहचरणको अन्तिम खेलमा बुधबार आयोजक थाईल्याण्डको ए टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।  

प्रकाशित:पुस २९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्