विराटनगरमा अन्तर्राष्ट्रिस्तरको प्रदर्शनी स्थल निर्माण हुने

- देवनारायण साह , मोरङ

    पुस २९, २०७५

    उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ । विराटनगर महानगर ३ स्थित सत्यनारायण मन्दिरको २ बिघा र महानगरको १ बिघा ७ कठ्ठा गरी ३ बिघा ७ कठ्ठा जग्गामा प्रदर्शनी स्थल निर्माणका लागि जग्गा हस्तान्तरण भएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोको उपस्थितिमा मन्दिर सञ्चालक समिति र महानगरले उद्योग संगठनलाई हकभोगका लागि जग्गा हस्तान्तरण गरेको छ । 

    मन्त्री पंडितले विराटनगर लगायत प्रदेश १ कै लागि महत्व राख्ने प्रदर्शनी स्थलको निर्माणले यस क्षेत्रको आर्थिक एवं औद्योगिक विकासले गतिलिने विश्वास व्यक्त गर्नुभयो । 

    प्रदेश १ का मन्त्री आङवोले प्रदर्शनी स्थलको अभावमा उद्योग व्यवसाय क्षेत्रले आफ्नो वस्तु तथा उत्पादनको बजार प्रर्वधन गर्नबाट वञ्चित भईरहेको अवस्थामा उद्योग संगठन मोरंगले निर्माण गर्न लागेको प्रदर्शनी स्थलले राहत प्रदान गरेको बताउनुभयो ।

    विराटनगर महानगर प्रमुख भीम पराजुलीले महानगरपालिका समेतको सहकार्यमा विराटनगरको गौरवका रुपमा निर्माण हुने प्रदर्शनी स्थल आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने बताउनुभयो ।

    उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रुपमा आयोजना गर्ने लक्ष्य लिईएको विराट एक्स्पो जस्ता प्रदर्शनीलाई निरन्तरता दिन नसकिरहेको अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

    ‘प्रदेश १ सरकार, विराटनगर महानगरको सहकार्यमा उद्योग संगठनले यसै वर्षदेखि प्रदर्शनी स्थलको निर्माण कार्य सुरु गर्छ,’ उहाँले भन्नुभयो, ‘प्रदर्शनी स्थल निर्माणका लागि संघीय सरकारले आर्थिक सहयोग जुटाइदिने भएको छ ।’ 

    घिमिरेले तत्काल प्रदर्शनी स्थलको डिजाइन र लागत स्टिमेट गराएर शिलान्यास गर्ने तयारी गरेको बताउनुभयो । ‘प्रदर्शनी स्थल निर्माण भएपछि बाह्रैं महिना यहाँका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरी व्यापार प्रबद्र्धन गर्न मद्दत मिल्छ,’ उनले भने, ‘यसले यस क्षेत्रको आर्थिक गतिबिधी समेत वृद्धि हुन्छ ।’

    जग्गा हस्तान्तरण सम्झौता पत्रमा उद्योग  संगठनका तर्फबाट निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्व अध्यक्ष सुशिल धनावत, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना र सत्यनाराण मन्दिर सञ्चालक समितिका तर्फबाट किशोर थापा, रामप्रसाद खतिवडा, मावध प्रसाद कोइराला, वल्लभप्रसाद अधिकारी, जगदीश राजवंशी र लक्ष्मीकान्त विश्वासले हस्ताक्षर गरेका छन् ।

    मन्दिरको २ बिघा जग्गा उद्योग संगठनले ९५ वर्षको लागि भाडामा लिएको छ । भाडा दर संगठन र मन्दिर समितिको आपसी सहमतिमा निर्धारण हुन्छ । महानगरले यसअघि नै १ विघा ७ कठ्ठा जग्गा उद्योग संगठनलाई हकभोगका लागि प्रदान गरिसकेको घिमिरेले बताउनुभयो ।

    प्रकाशित:पुस २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्